नेपालमा बिक्री हुने तीन शक्तिशाली स्कुटर, तपाईंको रोजाइ कुन ?

काठमाडौं । नेपालमा स्कुटर भन्ने बित्तिकै सहरी क्षेत्रमा दैनिक आवतजावतका लागि सहज दुईपाँग्रे सवारी भन्ने बुझिन्छ । तर, पछिल्लो समय स्पोर्टी डिजाइन, शक्तिशाली इन्जिन र आधुनिक प्रविधि भएका पावरफुल स्कुटर उपलब्ध हुन थालेका छन् ।

पछिल्लो समय १५० सीसीभन्दा ठूला इन्जिन सेग्मेन्टमा आधारित स्कुटरहरूमा आकर्षण बढ्दो छ । यी स्कुटर घुमफिर, लामो दुरीको यात्राका लागि पनि उपयुक्त हुने भएकाले माग पनि बढ्दो छ । त्यसैलाई मध्येनजर गर्दै बिक्रेताहरूले पनि ठूला क्षमतामा स्कुटर ल्याइरहेका छन् ।

हाल नेपालमा १५० सीसीभन्दाको सेग्मेन्टमा ३ वटा स्कुटर उत्कृष्ट विकल्पको रूपमा रहेका छन् । जसमा टीभीएस एनटर्क १५०, यामाहा एरोक्स १५५ र अप्रिलिया एसआर १७५ रहेका छन् ।

यी तीनवटै स्कुटरले स्पोर्टी डिजाइन र उच्च प्रदर्शनलाई प्राथमिकता दिएका छन् । हामीले यहाँ तिनै स्कुटरको इन्जिन क्षमता, पावर, सुरक्षा प्रविधि, मूल्य लगायत बारे चर्चा गरेका छौं ।

टीभीएस एनटर्क १५० : प्रविधि र स्पोर्टी डिजाइनको संयोजन

टीभीएस एनटर्क १५० नेपाली बजारमा हालसालै बिक्री सुरू भएको हो । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ३ लाख ६९ हजार ९०० रुपैयाँ मूल्य तोकेर पावरफुल एनटर्कको बिक्री थालेको हो ।

टीभीएस एनटर्कमा १४९.७ सीसी, सिंगल सिलिण्डर, एयर कुल्ड, थ्री भल्ब, एफआई इन्जिन प्रयोग गरिएको छ । अधिकतम १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेण्डमा भेटाउँछ । यसको टप स्पीड क्षमता १०४ किलोमिटर प्रतिघण्टा छ ।

एनटर्क १५० मा एरोडायनामिक बडी, प्रोजेक्टर हेडलाइट, स्पोर्टी टेललाइट र आकर्षक अलोय ह्वील दिइएको छ । यसले सामान्य कम्युटर स्कुटरभन्दा फरक पहिचान बनाउने प्रयास गरेको छ । यसको अर्को प्रमुख विशेषता टीभीएस कनेक्टेड प्रविधि हो ।

यसमा टीएफटी डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, कल तथा म्यासेज अलर्ट र राइडसम्बन्धी जानकारी उपलब्ध छन् । सुरक्षाका लागि सिंगल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल पनि दिइएको छ । त्यस्तै, २२ लिटरको अण्डर सिट स्टोरेजले दैनिक प्रयोगलाई सहज बनाउँछ ।

प्रविधि, व्यावहारिक प्रयोग र स्पोर्टी लुकलाई एउटै स्कुटरमा खोज्ने ग्राहकका लागि एनटर्क १५० आकर्षक विकल्प हुन सक्छ ।

अप्रिलिया एसआर १७५ एचपीई : ठूलो इन्जिन र रेसिङ शैली

अप्रिलिया एसआर १७५ एचपीई नेपाली बजारमा ४ लाख ५६ हजार ५०० रुपैयाँ मूल्यमा बिक्री हुँदै आएको छ । डेल्टा अटोकर्प केही महिना अघि मात्रै यसको बिक्री थालेको हो ।

एसआरमा १७४.७ सीसीको सिंगल सिलिण्डर, थ्री भल्भ, एयर कुल्ड, बीएस ६ ओबीडी टू स्टेज बी इन्जिन छ । यो इन्जिनले अधिकतम १३.२६ पीएस पावर र १४.१४ एनएम टर्क उत्पादन गर्छ ।

एसआर १७५ को मुख्य आकर्षण यसको आक्रामक डिजाइन, रेसिङ शैली र ह्यान्डलिङमा केन्द्रित बनावट हो । यसमा १४ इन्चको अलोय ह्वील, स्पोर्टी बडी डिजाइन, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र रियर मोनोसक दिइएको छ ।

यसमा ५ इन्चको कलर टीएफटी डिस्प्ले, एलईडी लाइटिङ र अगाडिको डिस्क ब्रेकसँग एबीएस उपलब्ध छ । ६ लिटर क्षमताको इन्धन ट्याङ्कीले लामो दूरीको यात्रामा इन्धन भर्ने अन्तराल व्यवस्थापन गर्न सहयोग गर्छ ।

इन्जिन क्षमता सबैभन्दा ठूलो भए पनि यसले पावरका हिसाबले अन्य दुई स्कुटरलाई अनिवार्य रूपमा उछिन्छ भन्ने हुँदैन । वास्तविक प्रदर्शनमा इन्जिन ट्युनिङ, तौल र पावर उत्पादन हुने आरपीएमले पनि भूमिका खेल्छ । स्पोर्टी ह्याण्डलिङ, फरक डिजाइन र ठूलो इन्जिन क्षमता प्राथमिकतामा राख्ने ग्राहकका लागि अप्रिलिया एसआर १७५ एचपीई विकल्प हो ।

यामाहा एरोक्स १५५ : भीभीए इन्जिन र म्याक्सी स्कुटरको पहिचान

यामाहा एरोक्स १५५ नेपाली बजारको प्रिमियम स्पोर्टी स्कुटरमध्ये एक हो । एमएडब्लू राइड्सले लामो समयदेखि नेपाली बजारमा एरोक्स १५५ म्याक्सी स्कुटर बिक्री गर्दै आइरहेको छ । कम्पनीले यसको मूल्य ५ लाख ४ हजार ९०० रुपैयाँ तोकेको छ ।

एरोक्समा १५५ सीसीको लिक्विड कुल्ड, फोर भल्भ इन्जिन दिइएको छ, जसमा भेरिएबल भल्भ एक्चुएसन (भीभीए) प्रविधि प्रयोग गरिएको छ । यो यामाहाको आर १५ र एमटी १५ मा प्रयोग भएको इन्जिन प्लेटफर्म हो ।

यो इन्जिनले अधिकतम १५ पीएस पावर र १३.९ एनएम टर्क उत्पादन गर्छ । तीन स्कुटरमध्ये एरोक्स १५५ को घोषित अधिकतम पावर सबैभन्दा बढी छ ।

एरोक्स १५५ को डिजाइन परम्परागत स्कुटरभन्दा फरक छ । ठूलो बडी, मोटरसाइकलबाट प्रेरित बनावट, अग्लो र स्पोर्टी सिट, एलईडी हेडलाइट तथा १४ इन्चका ह्वीलले यसलाई म्याक्सी स्पोट्र्स स्कुटरको पहिचान दिन्छ ।
यसमा अगाडि डिस्क ब्रेकसँग एबीएस, पछाडि फराकिलो टायर, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र यामाहा कनेक्ट एपमार्फत स्मार्टफोन कनेक्टिभिटी, ट्रयाक्सन कन्ट्रोल जस्ता सुविधा छन् । अन्डर सिट स्टोरेज करिब २४.५ लिटरको छ ।

लिक्विड कुल्ड इन्जिन र भीभीए प्रविधिका कारण एरोक्स १५५ उच्च आरपीएममा पनि प्रभावकारी पावर दिन सक्ने स्कुटरका रूपमा परिचित छ । स्कुटर चलाएर मोटरसाइकलको जस्तै अनुभब लिन चाहने ग्राहकका लागि एरोक्स १५५ उपयुक्त हुन्छ ।

निष्कर्ष

प्रविधि र मूल्यको सन्तुलन खोज्नेका लागि टीभीएस एनटर्क १५० आकर्षक विकल्प हुन सक्छ । त्यस्तै, स्पोर्टी डिजाइन र ठूलो इन्जिन क्षमता रुचाउनेका लागि अप्रिलिया एसआर १७५ र उच्च पावर, लिक्विड कुल्ड इन्जिन चाहनेका लागि यामाहा एरोक्स १५५ उपयुक्त विकल्प हुनसक्छ ।


Back_to_top