काठमाडौं । सरकारले अब २३ वटा सडक (२२ सडक र एउटा सुरूङमार्ग)बाट सडक दस्तुर (रोड टोल) उठाउने भएको छ ।
सडक बोर्ड नेपालले कोभिड अगाडि देशभरका १५ सडकबाट दस्तुर उठाउँदै आएको थियो । अहिले नयाँ ८ सडक थप गर्दै २३ वटा सडकबाट टोल उठाउने तयारी गरेको हो ।
सडक दस्तुर तोकिएका २३ सडकमध्ये काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) र नागढुंगा-नौबिसे संचालनमा आएका छैनन् । बोर्डले हाललाई संचालनमा रहेका २१ सडकबाट दस्तुर उठाउने तयारी गरेको हो ।
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले यसअघि सडक दस्तुर उठाउने सडकको संख्या १५ रहेकोमा ८ वटा थप गरी २३ वटा पुर्याइएको जानकारी दिए ।
‘पहिला १५ वटा सडकमा दस्तुर उठाइँदै आइएको थियो । कोरोनाकालमा स्थगित गरियो । त्यसयता उठाइएको छैन,’ उनले मेरोअटोसँग भने, ‘अहिले थप ७ सडक र नागढुंगा सुरूङमार्ग गरी कुल २३ वटा सडकबाट दस्तुर उठाउने तयारी गरिएको हो ।’
बोर्डले तयार पारेको ‘सडक दस्तुर उठाउने कार्यविधि २०८१’ यही जेठ १७ गतेकाे मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । यद्यपि, उक्त निर्देशिका राजपत्रमा प्रकाशित भएको छैन ।
उनका अनुसार महेन्द्र राजमार्गको (पश्चिमतर्फ ४ खण्ड) अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, फास्ट ट्रयाक र नागढुंगा सुरूङमार्ग थप गरिएको छ । जस अनुसार महेन्द्र राजमार्गको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-अत्तरिया, अत्तरिया-गड्डाचौकी खण्डमा सडक दस्तुर उठाइने छ । त्यस्तै, धुलिखेल-तातोपानी, मुग्लिन-पोखरा, काठमाडौं-तराई द्रुतमार्ग र नागढुंगा नौबिसे सुरूङमार्गमा दस्तुर उठाइने छ ।
उनका अनुसार यसअघि उठाइँदै आएका सडकमा पुरानै शुल्क उठाइने छ । ‘सडक दस्तुर पुनरावलोकन गर्ने बेला भएको छ । तर, हाललाई पुरानै कायम गरिएको छ,’ उनले भने । थपिएका सडकमा उठाइने दस्तुर प्रस्ताव गरिए पनि टुंगो लागेको छैन ।
२२ सडकबाट दस्तुर उठाउने तयारी गरिए पनि कुन मितिदेखि लागू गर्ने भन्ने टुंगो नलागेको उनले बताए ।
कोभिड अघि यी सडकमा उठाइँथ्यो सडक दस्तुर
बोर्डले सडक दस्तुर उठाउन सडक बोर्ड ऐन २०५८ अनुसार २०६० मा ‘सडक दस्तुर उठाउने कार्यविधि सम्बन्धी नियमावली बनाएको थियो । सडकमा २०६७ असार १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै भैरहवा-भुमइ (२९ किमी) र वीरगंज-पथलैया (२५ किमी) सडकमा दस्तुर उठाउन सुरू गरेको थियो ।
२०७६ सम्म हेटौंडा-नारायणघाट, नारायणघाट-बुटवल, नौबिसे-मुग्लिन, काकडभिट्टा-दमक, दमक-इटहरी, विराटनगर-धरान, कोशी-चैहर्वा, चैहर्वा-पथलैया, हेटौंडा-वीरगञ्ज गरी ११ सडकमा दस्तुर उठाइँथ्याे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ वैशाख २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै धुलिखेल-खुर्कोट, खुर्कोट-सिन्धुली-बर्दीबास र पाँचखाल-मेलम्ची सडकमा पनि दस्तुर उठाउने निर्णय गरेको थियो । त्यस्तै, २०७७ भदौ ८ गते नारायणगढ-मुग्लिन सडकलाई थप गरिएको थियो ।
कति लाग्छ सडक दस्तुर ?
बोर्डले सडकको दूरी र सवारी साधनको प्रकृति अनुसार फरक फरक शुल्क तोकेको छ । सडकमा गुड्ने सवारीलाई ३ वर्गमा विभाजन गरी दस्तुर तोकिएको छ । सरकारी सवारीको हकमा कुनै शुल्क तोकिएको छैन ।

मोटरसाइलको सडक अनुसार न्यूनतम ५ रुपैयाँदेखि १५ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै, कार, जीप, पिकअप भ्यान र ट्रयाक्टरलाई न्यूनतम १५ देखि ८५ रुपैयाँसम्म तोकिएको छ ।
बस, मिनिबस, ट्रक, मिनिट्रक, हेभी मेशिनरी इक्वीपमेन्टलाई न्यूनतम ३० रुपैयाँदेखि अधिकतम १४० रुपैयाँ शुल्क तोकिएको छ । अहिले थपिएको ७ सडकको भने शुल्क सार्वजनिक गरिएको छैन ।
नागढुंगामा भित्रिनेभन्दा बाहिरिने शुल्क सस्तो
सडकको तुलनामा नागढुंगा सुरुङमार्गमा तिर्नुपर्ने दस्तुर धेरै तोकिएको छ । सुरुङमा गुड्ने सवारी साधनलाई ४ भागमा विभाजन गरी टोल शुल्क तोकिएको छ । जसमा सुरुङमार्गबाट काठमाडौं भित्रिनेभन्दा काठमाडौंबाट बाहिरिने शुल्क सस्तो तोकिएको छ ।
सुरुङमार्ग हुँदै काठमाडौं आउने साना चारपाँग्रे सवारी साधन कार, भ्यान, पिकअप, माइक्रो बसले ७५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा यी सवारीसाधनले आउँदाकोभन्दा २५ रुपैयाँ कम अर्थात् ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यसैगरी, मिनी बस, मिनी ट्रक र टिपर सुरुङमार्ग हुँदै काठमाडौं आउँदा १२५ रुपैयाँ र बाहिरिँदा १०० रुपैयाँ शुलक तिर्नुपर्नेछ । त्यस्तै, बस र ट्रकले काठमाडौंतर्फ आउँदा २५० रुपैयाँ बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
प्रस्तावित शुल्क अनुसार सुरुङमार्ग प्रयोग गरेबापत हेभी सवारी साधन (लरी)ले भने सबैभन्दा धेरै रकम तिर्नुपर्नेछ । जसमा काठमाडौंतर्फ आउँदा ५०० रुपैयाँ र बाहिरिँदा ३०० रुपैयाँ तिर्नुपर्नेछ ।


