मारुती सुजुकी, हुन्डाई र टाटा कसको मार्केट सेयर कति ?

चालू आर्थिक वर्षको अप्रिल–जुनको अवधिमा मारुती सुजुकीको बजार हिस्सा ५२.५४ प्रतिशत रहेको छ । यसले भारतीय प्यासेन्जर सवारी सेगमेन्टमा मारुती सुजुकीको बर्चश्व छ, भन्दा फरक पर्दैन । यो अवधिमा बजार हिस्साका आधारमा होन्डा कार इन्डियालाई टाटा मोटर्सले समेत पछि पारेको छ ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतको आन्तरिक बजारमा २०१८–१९ को पहिलो क्वाटरमा ८ लाख ७३ हजार ५ सय १ वटा कार बिक्री भएको थियो । जबकी गत वर्षको सोही अवधिमा ७ लाख २८ हजार ४ सय ८३ वटा कार बिक्री भएको थियो ।

मारुतीको समग्र बजार हिस्सा २.११ प्रतिशतले बढ्यो

यो वर्षको अप्रिल–जुनको अवधिमा मारुती सुजुकी इन्डियाले ४ लाख ५८ हजार ९ सय ६७ वटा कार बिक्री गरेको छ । पहिलो क्वाटरमा मारुतीको बजार हिस्सा ५२.४५ प्रतिशतले बढेको छ ।

गत वर्षको सोही अवधिको बिक्री वृद्धि ५०.४३ प्रतिशत थियो । मारुती सुजुकीको बजार हिस्सा बढ्नुमा नयाँ ह्याचब्याक स्वीफ्ट, कम्प्याक्ट सेडान डिजायर, एयुभी ब्रेजा र प्रिमियम ह्याचब्याक बलेनोको माग बढ्नु रहेको छ ।

हुन्डाईको बिक्री संख्या बढ्दा, बजार हिस्सा घट्यो

भारतीय प्यासेन्जर कार बजारमा बजार हिस्साका हिसाबले हुन्डाई दोस्रो स्थानमा रहेको छ । यो वर्षको अप्रिल–जुनको अवधिमा हुन्डाइले १ लाख ३७ हजार १ सय १४ वटा सवारी बिक्री गरेको छ ।

गत वर्षको सोही अवधिमा हुन्डाइले भारतीय बजारमा १ लाख २४ हजार ३ सय २७ वटा कार बिक्री गरेको थियो । अघिल्लो वर्ष हुन्डाइको बजार हिस्सा १७ प्रतिशतले बढेकोमा यो वर्ष १५.६९ प्रतिशतमा सिमित भएको छ ।

महिन्द्रा एन्ड महिन्द्रा तेस्रो स्थानमा 

प्यासेन्जर सवारी बजार हिस्साका आधारमा महिन्द्रा एन्ड महिन्द्रा तेस्रो नम्बरमा रहेको छ । महिन्द्राले अप्रिल जुनको अवधिमा ६० हजार ५ सय ३८ वटा सवारी बिक्री गरेको छ ।

गत वर्षको सोही अवधिमा ५५ हजार ७ सय ८५ वटा सवारी बिक्री गरेको थियो । महिन्द्राको पनि बजार हिस्सा ७.६५ प्रतिशतबाट ६.९३ प्रतिशतमा सिमित भएको छ ।

टाटाको बजार हिस्सा बढ्यो

त्रैमासिक अवधिमा टाटाको प्यासेन्जर सवारी बिक्री हालसम्मकै धेरै भएको छ । यो वर्षको अप्रिल जुनको अवधिमा टाटाले ५८ हजार ९ सय ६९ वटा कार बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा टाटाले ३९ हजार ७ सय ८ वटा मात्र सवारी बिक्री गरेको थियो ।

टाटाको गत वर्षको तुलनामा सवारी बिक्री ४८.५ प्रतिशतले वृद्धि भएको छ । समग्रमा टाटाको बजार हिस्सा पनि ५.४५ बाट बढेर ६.७५ प्रतिशत पुगेको छ । यो संगै टाटाले प्यासेन्जर सवारी बजारमा होन्डालाई पछि पारेको छ ।

होन्डा पाँचौं नम्बरमा

यो वर्षको पहिलो त्रैमासमा होन्डाले भारतमा ४२ हजार ६ सय ९ प्यासेन्जर सवारी बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा होन्डाले भारतमा ३८ हजार ५ सय ६२ कार बिक्री गरेको थियो ।

गत वर्षको तुलनामा होन्डाको आन्तरिक बिक्री १०.४९ प्रतिशतले बढेको छ । होन्डाको समग्र बजार हिस्सा ५.२८ बाट बटेर ४.८८ प्रतिशतमा झरेको छ ।


Back_to_top