नेपाल आइपुग्यो टोयोटाको स्पोर्टस् कार ‘जीआर यारिस’

काठमाडौं । जापानी अटोमोबाइल उत्पादक टोयोटाको चर्चित स्पोर्टस कार जीआर यारिस नेपाल भित्रिएको छ । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले पहिलो पटक आधिकारिक रूपमा जीआर यारिस नेपाल ल्याएको हो ।

जी आर यारिस अझ उत्कृष्ट र मोटरस्पोट्र्सका लागि विशेष रूपमा तयार पारिएका गाडी हो । यो सन् २०२० मा पहिलो पटक बजारमा आएको थियो । टोयोटाले यसलाई विभिन्न र्याली र रेसिङ ट्रयाकहरूमा कडा परीक्षण गरी निरन्तर परिष्कृत गर्दै आएको छ ।

जीआर यारिसको नयाँ संस्करणमा मोटरस्पोर्टको वास्तविक अनुभवबाट प्रेरित आधुनिक सुधारहरू समावेश गरिएको छ। धेरैजसो स्पोर्टस कारहरू पहिले सडकका लागि बनाइन्छ । त्यसपछि मात्रै त्यसलाई रेसका लागि परिमार्जन गरिन्छ । तर, टोयोटाले जीआर यारिसलाई सुरुमै वल्र्ड र्याली च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्नका लागि डिजाइन गरेको थियो ।

जीआर यारिसमा १.६ लिटरको, थ्री सिलिण्डर टर्बोचाज्र्ड इन्जिन छ । यो इन्जिन क्षमता सानो देखिए पनि विश्वकै सबैभन्दा शक्तिशाली थ्री सिलिन्डर इन्जिनमध्ये एक हो । यसले करिब ३०० हर्षपावर शक्ति दिन्छ ।यसमा ६ स्पीडको म्यानुअल र ८ स्पीडको अटोमेटिक गियर छ ।

जीआर यारिसमा टोयोटाले विशेष रूपमा विकास गरेको जीआर फोर अल ह्वील ड्राइभ सिस्टम छ । यसले चालकलाई सडकको अवस्था अनुसार पावर अगाडि र पछाडिको पाङ्ग्रामा बाँड्ने सुविधा दिन्छ , जसले गर्दा चिप्लो वा कच्ची बाटोमा पनि यो गाडी निकै स्थिर रहन्छ।

गाडीको तौल कम गर्न यसको छत कार्बन फाइबर र ढोकाहरू आल्मुनियमबाट बनाइएको छ। यसले गर्दा गाडी छिटो कुद्न र मोड्न सजिलो हुन्छ।

नेपाल जस्तो घुम्ती, उकालो ओरालो भौगोलिक बनावट रहेको देशमा यस्तो शक्तिशाली र सानो आकारको गाडी निकै उत्कृष्ट मानिन्छ।


Back_to_top