काठमाडौं । नेपाली बजारमा चिनियाँ अटोमोबाइल ब्राण्ड एलएस अटोको तेस्रो मोडल सार्वजनिक भएको छ ।
एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता ब्लू कर्पोरेशन प्रालिले एलईभी एक्स इलेक्ट्रीक एसयूभी बिक्री सुरु गरेको हो ।
कम्पनीले एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । यसअघि नेपालमा एलएस अटोको एलईभी ०१ एसई र एलईभी ०१ सीई बिक्री हुँदै आएको छ ।
कम्पनीले नयाँ मोडल एलईभी एक्स अल ह्वील ड्राइभ नेपाल ल्याएको हो । कम्पनीका अनुसार एलईभी एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको डुअल मोटर सेटअप रहेको छ । यो मोटरले ६४० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ७७ किलोवाट अवारको लिथियम आइरन फोस्फेट ब्याट्री रहेको छ । यो ब्याट्रीले एकपटकको फुलचार्जमा ५५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
एलईभी एक्सको लम्बाइ ४६४० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५५ एमएम रहेको छ । यसमा २७६० एमएको ह्वीलबेस पाउन सकिन्छ ।
यसमा सेग्मेन्टकै अग्लो २१० एमएम ग्राउण्ड क्लियरेन्स छ । अल ह्वील ड्राइभ फिचर भएकाले यसलाई अफरोडमा पनि ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ ।
यसमा ६ वटा एयरब्याग, लेभल २ एडास, एबीएस, ईबीडी, अटो होल्ड, हिल होल्ड, ३६० क्यामेरा जस्ता सुरक्षा फिचर छन् ।
कम्पनीले एलईभीको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्म वारेन्टि दिएको छ ।
कम्पनीले नयाँ वर्षको अवसरमा एक्सचेन्जका साथै आकर्षक नगद छुटका योजना ल्याएको छ । यो स्कीममा कार किन्ने ग्राहकले चीन भ्रमणको अवसर समेत पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले ज्ञानेश्वरमा नयाँ शोरुम समेत संचालनमा ल्याएको छ ।

