टोयोटाको सबैभन्दा सस्तो एसयूभी नेपाल आउने, कति पर्ला मूल्य ?

काठमाडौं । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो लाइनअपको सबैभन्दा कम मूल्यको एसयूभी नेपाल ल्याउने तयारी सुरु गरेको छ । कम्पनीले भारतमा उत्पादन भएको हाइराइडर एसयूभी नेपाल ल्याउने तयारी थालेको हो ।

भारतीय बजारमा मासिक ६/७ हजार युनिट बिक्री हुँदै आएको टोयोटा हाइराइडर कम्प्याक्ट एसयूभी हो । अहिले नेपाली बजारमा भारतमा उत्पादन भएका कारहरु बिक्री भइरहेका छैनन् । कम्पनीले भारतमा उत्पादन भएको हाइराइडर भने नेपाल ल्याउने प्रक्रिया सुरु गरेको जनाएको छ ।

टोयोटा हाइराइडरको भारतमा सुरुवाती एक्स शोरुम मूल्य ११ लाख ३४ हजार भारतीय रुपैयाँ छ । जुन मूल्य टोयोटा ब्राण्डको लागि आकर्षक हो । यदि, हाइराइडरको इन्ट्री भेरियन्ट नेपाल आउने हो भने यसको मूल्य ६० लाख रुपैयाँ भित्रै रहनेछ ।

यस्तो छ टोयोटा हाइराइडर

टोयोटा हाइराइडर भारतमा दुई इन्जिन अप्सनमा बिक्री हुँदै आएको छ । जसमा माइल्ड हाइब्रिड भर्सनमा १४६२ सीसी क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा १०२ पीएस पावर र ४४०० आरपीएममा १३५ एनएम टर्क प्रदान गर्छ ।

हाइराइडरमा अर्को इन्जिन स्ट्रङ हाइब्रिड टेक्नोलोजीमा छ । टोयोटाको परिचित हाइब्रिड टेक्नोलोजीसँग १४९० सीसी क्षमताको पेट्रोल इन्जिनले अधिकतम ५५०० आरपीएममा ९२.४ पीएस पावर र ३८०० आरपीएममा १२२ एनएम टर्क प्रदान गर्छ । तर, यसमा १७७.६ भोल्टको लिथियम आयोन ब्याट्री र एसी सिन्क्रोनास मोटरसहितको हाइब्रिड टेक्नोलोजी प्रयोग भएको कारण यसको संयुक्त पावर भने ११५ पीएस पुग्छ । यसको म्यानुयल भेरियन्टमा अल ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ ।

हाइराइडरको लम्वाइ ४३६५ एमएम, चौडाइ १७९५ एमएम, उचाइ १६३५ एमएम छ । यसमा २६०० एमएम लामो प्रयोग भएको छ । टोयोटा यसको सबै चक्कामा डिस्क ब्रेक दिएको छ । यसको अगाडिको दुई चक्कामा भ्यान्टिलेटेड डिस्क र पछाडि सोलिड डिस्क पाइन्छ । १७ इन्चको स्टील र १७ इन्चकै अलोय ह्वील अप्सन भेरियन्ट अनुसार छ । अगाडि म्याक्फेर्सन स्टर्क र पछाडि टुर्सन बीम सस्पेन्स दिएको छ ।

कम्पनीले टप भेरियन्टमा ३६० डिग्री क्यामेरा, सेन्सर सहितको पार्किङ क्यामेरा, यात्रुको आवश्यकता अनुसार मिलाउन मिल्ने सिट बेल्ट, एबीएस, इबीडी जस्ता फिचर उपलब्ध गराएको छ ।

टोयोटाले हाइराइडरमा प्रिमियम सिट, सनरुफ, आकर्षक ड्यासबोड, ९ इन्चको स्ट्यान्डीङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, भ्यान्टीलेटेड फ्रन्ट सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोल, कनेक्ट कार टेक जस्ता फिचर दिएको छ ।


Back_to_top