तयार भयो ग्वार्को ओभर पास, यी काम सकेपछि गाडी गुडाउन थाल्ने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित ओभर पासको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । कुल ५४० मिटर लामो (पुल र र्याम्पसहित)को ओभर पास निर्माण थालिएको साढे २ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

ओभर पासको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा मन्त्री दाहालले ओभर पास निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब ओभर पासको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे । केही दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए।

पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए ।

ग्वार्को ओभरपासको कुल लम्बाइ ५४० मिटर लामो छ । जसमा ३५ मिटर लामो पुल र ५०५ मिटर लामो र्याम्प छ । ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ ।

ग्वार्को ओपभरपास इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गरिएको हो । यो मोडलमा डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेकेदार कम्पनीले नै गर्छ । ग्वार्को ओभरपास निर्माणको ठेक्का आरसी/समानान्तर/रेलिग्रे जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँ पाएको छ ।

माघ २०७८ मा ठेक्का सम्झौता भएको यो आयोजना २०७९ पुस २३ गतेबाट निर्माण थालिएको थियो । निर्माण थालिएको १३ महिनामा डिजाइनमा समस्या देखिएपछि काम रोकेर रिडिजाइन गरी पुनः काम अघि बढाइएको थियो । त्यसपछि पनि निर्माण गरिएको ४० मिटर र्याम्पमा समस्या देखिएपछि गत पुसमा फेरि काम रोकिएको थियो ।

सुरू सम्झौता अनुसार २०८० फागुन १२ भित्र सम्पन्न हुनुपर्थ्यो । अन्तिमपटक थपिएको म्याद २०८१ पुस ९ गते सकिएको थियो । पुस १० देखि कम्पनीले दैनिक ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तिरेर काम गरिरहेको छ ।

सो ओभर पास सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।


Back_to_top