काठमाडौं । साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना हुँदैछ । केही महिना अघि मात्रै खुलेको नाइमाले साउनमा पहिलो अटो शो आयोजना गर्ने भएको हो ।
विगतमा सफलतापूर्वक १७ संस्करण पूरा भएको नाडा अटो शो पनि भदौ ४ गतेबाट आयोजना हुँदैछ । यस्तोमा यी दुवै अटो शोमा नयाँ मोडलको लामै लिस्ट आउन सक्ने देखिन्छ ।
आधिकारिक बिक्रेताहरूले अहिलेसम्म ठ्याक्कै घोषणा नगरे पनि दुई अटो शोमा गरेर राम्रै संख्यामा नयाँ मोडलहरू आउने छन् । अघिल्लो वर्ष भएको नाडा अटो शो २०२४ मा मोडलभन्दा पनि धेरै कार ब्राण्ड लन्च भएका थिए । तर, यसपटक ब्राण्ड कम र मोडलहरू धेरै उपलब्ध हुनेछन् ।
अब कुरा गरौं पहिला हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा रहने नयाँ कारको बारेमा । सबैभन्दा पहिला नाइमा अटो शोमा नयाँ मोडल ल्याउने घोषणा लीपमोटरले गरिसकेको छ । कम्पनीले लीपमोटरको बी-१० एसयूभी सार्वजनिक गर्नेछ ।

त्यसैगरी ओमोडा-जेको ब्राण्डमा जे-५ मोडल आउने पक्का जस्तैछ । महिन्द्राले आफ्ना दुई एसयूभी बीई-सिक्स र एक्सईभी-नाइन पनि मोबिलिटी एक्स्पोमा प्रदर्शनी गर्नेछ । टोयोटाले नयाँ मोडल देखाउने छैन । केही महिना अगाडि आएको एलसी-२५० नै टोयोटाको स्टलमा मुख्य आकर्षण बन्न सक्छ ।
कियाले क्लाभिस एसयूभी र सिरोस एसयूभी मध्ये कुनै एक मोडल नेपाल ल्याउने छ । साथै, सकभर ईभी-५ पनि नेपाल ल्याउने गरी कम्पनीले तयारी गरिरहेको छ ।
प्रोटोनको पनि नयाँ ह्याचब्याक कार मोबिलिटी एक्स्पोमा रहन सक्नेछ । डोङफेङ फरथिङ ब्राण्ड नै एक्स्पोबाट बिक्री सुरू हुने अनुमान गरिएको छ । यही बीवाइडीले पनि केही मोडल प्रदर्शनी गर्ने छ । सम्भवतः कम्पनीले सिलायन-७ ईभीको बिक्री थाल्नेछ । त्यस्तै, एमजीको विन्डसर ईभी पनि मोबिलिटी एक्स्पोबाटै बिक्री सुरू हुनेछ ।

भदौ लागेपछि हुने नाडा अटो शोमा पनि कम्पनीहरूले नयाँ मोडल देखाउने तयारी गरेका छन् । नाडामा पनि बीवाइडीले सानो कार देखाउने सम्भावना छ । टाटाले पनि ह्यारीयर ईभी ल्याउने प्रयास गरिरहेको छ ।
सुजुकीको इभिटारा भारतमा अगष्टमा बिक्री सुरू भएको खण्डमा नाडा अटो शोमा आउने छ । दीपल एस-०५ र नामी-६ पनि अटो शोमा हुनेछन् । सीजी मोटर्सले पनि एवोन युटी मोडल ल्याएर देखाउने सम्भावना रहेको छ ।
दुई संस्था बीच चलिरहेको टकरावमा उपभोक्ताले अटो शोहरूमा कस्तो स्कीम पाउँछन्, अहिल्यै एकिन साथ भन्न सक्ने अवस्था छैन ।

होला प्राइसवार ?
अटो शोमा प्राइसवारको सम्भावनालाई नकार्न सकिँदैन । तर, त्यसको सुरूवात कस्ले गर्छ भन्ने एकिन भएको छ । तर, एउटा कुरा पक्का के हो भने नयाँ आउने गाडीहरूको मूल्य भने निकै प्रतिस्पर्धी हुनेछ ।
अघिल्लो वर्षको अटो शोमा एमजीले प्राइसवारको सुरूवात गरेको थियो । त्यसपछि केही कम्पनीले मूल्य घटाउने प्रतिस्पर्धा नै गरे । यसपटक कसले सुरू गर्छ, अनि कतिले पछ्याउँछन् भन्ने कुरा रोचक नै हुनेछ ।

