टोयोटाले विक्री सुरु गर्दै सानो इलेक्ट्रीक कार

काठमाडौं । जापानी कार उत्पादक कम्पनी टोयोटाले दुई जनाले मात्रै यात्रा गर्न मिल्ने सानो इलेक्ट्रीक कारको जापानबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार गरेको ‘सि पड’ नामक इलेक्ट्रीक कारको विक्री सुरु गर्न लागेको हो ।

पूर्णत वातावरण मैत्री रहने यो कारको लम्बाई २४९० एमएम मात्र रहेको छ । यसको चौडाई १२९० एमएम र उचाई १५५० एमएम छ भने यसमा १७८० एमएमको ह्वीलवेस दिइएको छ ।

टोयोटाले यो सानो कारमा ९.०६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिएको छ । उक्त व्याट्रीलाई घरायसी सामान्य विजुलीमा चार्जगर्दा ५ घन्टा लाग्ने छ । एक पटकको फुल चार्जमा यसलाई १५० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।

सि पडको उच्च गति क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ । रियर ह्वील ड्राइभ अप्सनमा आउने यो कारलाई हाइवेमा गुडाउने कन्सेप्टमा तयार गरिएको छैन ।

यस कारमा दिइएको मोटरले अधिकतम १२.३३ बीएच पवार र ५६ एनएम टर्क प्रदान गर्ने छ । कम्पनीले यसलाई जापानमा दुई भेरियन्टमा बजारमा ल्याउने तयारी गरिरहेको छ । सि पड एक्स भेरियन्टको जापानमा मूल्य १६ लाख ५० हजार येन र जी भेरियन्टको १७ लाख १६ हजार येन रहने छ ।

कम्पनीले अबको केहि दिन भित्रै जापानको सरकारी कार्यालयलाई यसको विक्री सुरु गर्ने जनाएको छ भने आम उपभोक्तालाई सन् २०२२ बाट मात्रै विक्री गर्ने लक्ष्य लिएको छ ।


Back_to_top