काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दुई नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले मंगलबार नयाँ मोडल सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले अटो एक्स्पोमा दुई नयाँ मोडल ल्याउन लागेको जानकारी दिँदै युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्यले भनिन्, ‘अहिले ठ्याक्कै नभनौं । तर, दुई नयाँ प्रोडक्ट हामी लन्च गर्नेछौं ।’
वैद्यले नाम नै नलिए पनि कम्पनीले छैटौं जेनेरेशन र्याभफोर हाइब्रिड एसयूभी नेपाल ल्याउने पक्का जस्तै छ । विश्वभर निकै चर्चा कमाइरहेको नयाँ र्याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ ।
सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्याभफोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ । जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १८ पीएसले बढी हो । सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ ।
सन् १९९४ मा पहिलो पटक बजारमा आएको टोयोटा ¥याभफोर संसारभर सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयूभी हो । विगत ३२ वर्षमा झण्डै १ करोड ५५ लाख युनिट र्याभफोर बिक्री भइसकेको छ । नेपालमा पनि यसले १ हजार युनिट बिक्री पूरा गरिसकेको छ । कति मूल्यमा यो एसयूभी आउँछ भन्ने थाहापाउन मंगलबारसम्म कुर्नु पर्ने हुन्छ ।
टोयोटाले नेपाल ल्याउन लागेको अर्को मोडल नयाँ जेनेरेशन हाइलक्स हुन सक्छ । यसको पनि आधिकारिक जानकारी कम्पनीले गराएको छैन । कम्पनीले नवौं जेनेरेशनको हाइलक्स एकपछि अर्को बजारमा बिक्री थाल्दै आएको छ । केही दिन अगाडि भारतमा पनि लन्च भएको थियो ।
नयाँ हाइलक्स बोल्ड डिजाइन, अपग्रेडेड इन्टेरियरसहित आउन लागेको हो । नेपालमा पीकअप भनेकै हाइलक्स भन्ने मानक स्थापित गर्न सफल मोडलको नयाँ जेनेरेशन ल्याण्ड क्रुजरबाट प्रेरित टफ एण्ड अजाएल डिजाइनमा बनेको छ ।
नयाँ हाइलक्स ४८ भोल्टको हाइब्रिड भर्सन आउन सक्छ । यसमा २.८ लिटरको डिजेल इन्जिन रहने छ । नयाँ हाइलक्सले १ टनसम्मको लोड र ३.५ टन सम्मको टोइङ क्षमता राख्छ ।
२१ लाखसम्म छुट पाउने
कम्पनीले नाइमा मोबिलिटी एक्स्पोको अवसरमा ग्राहकलाई २१ लाख रुपैयाँसम्म छुट दिने भएको छ । कम्पनीका अनुसार नाइमा एक्स्पोको बेला टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट पाउने भएका हुन् । यद्यपि, कम्पनीले कुन मोडलका कति लाख छुट भन्ने खुलाएको छैन ।
साथै, ग्राहकले विशेष ड्राइभ अवसर पनि पाउने छन् । नाइमामा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा ‘इलाइट एक्स्प्लोर कन्या कुमारी ड्राइभ’मा सहभागी हुने मौका पाउने छन् । त्यस्तै, नाइमामा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा सहभागी हुने पाउने कम्पनीले जनाएको छ ।


