काठमाडौं । ट्राफिक सचेतना कक्षा आजदेखि पुनः संचालन भएको छ । गत भदौ अन्तिम सातादेखि रोकिएको सचेतना कक्षा मंगलबारदेखि पुनः सुरू गरिएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण ट्राफिक प्रहरीको कार्यालयहरुमा आगजनी भएपछि सचेतना कक्षा रोकिएको थियो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति तथा सडक लेन उल्लंघन गरी कारबाहीमा परेका चालकहरूलाई ट्राफिक सचेतना कक्षा दिइन्छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) नरेशराज सुवेदीले आजदेखि भौतिक रूपमा ट्राफिक सचेतना कक्षा सुरू गरिएको जानकारी दिए ।
उनका अनुसार हाल रामशाहपथमा दैनिक ५ वटा कक्षा संचालन गरिएको छ । सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म ५ वटा कक्ष संचालन हुने उनले बताए ।
‘जेनजी आन्दोलनपछि रोकिएको ट्राफिक सचेतना कक्षा आजदेखि सुरू गरेका छौं । बिहान ९ बजेदेखि ४ बजेसम्म ५ वटा कक्षा संचालन हुन्छन्,’ उनले मेरोअटोसँग भने ।
उनका अनुसार बिहान ९ देखि १० बजे, १०ः३० देखि ११ः३० बजे, १२ देखि १ बजे, १ः३० देखि २ः३० बजे र ३ देखि ४ बजेसम्म सचेतान कक्षा संचालन हुनेछ । चालकहरुले आफूलाई पायक पर्ने समयमा गएर कक्षा लिनसक्ने उनले बताए ।
शुक्रबार भने दिउँसो साढे २ बजेसम्म मात्र सचेतना कक्षा संचालन हुनेछ । कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरुको सहजताको लागि अन्य सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शनिबार १० बजेदेखि १२ बजेसम्म दुई वटा कक्षाको व्यवस्था गरिएको प्रवक्ता सुवेदीले बताए ।
उपत्यकामा हाल काठमाडौंको रामशाहपथमा मात्रै कक्षा संचालन हुने व्यवस्था गरिएको उनले बताए । भक्तपुर र ललितपुरमा पनि चाँडै व्यवस्था मिलाइने उनको भनाइ छ ।
त्यस्तै, यातायात व्यवस्था विभागको अनलाइन प्रणाली संचाचलनमा नआएकाले हाल अनलाइन कक्षा लिन नसकिने उनले बताए । विभागको सिस्टम संचालन भई नागरिक एपमा लाइसेन्स देखाउन थालेपछि अनलाइनबाट पनि कक्षा लिन सकिने उनको भनाइ छ ।

