ट्राफिक कारबाही तीव्र, मंसिरमा ४४ प्रतिशतले बढ्यो जरिवाना असुली

फाइल तस्बिर ।

काठमाडौं । ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गर्नेहरू विरुद्ध कारबाही तीव्र बनाएको छ । ट्राफिक चेकिङ तीव्र पारिएसँगै उठ्ने जरिवाना रकम पनि उल्लेख्य वृद्धि भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरमा ट्राफिक कारबाहीबाट उठ्ने जरिवाना रकम ४३.९१ प्रतिशतले बढेको छ ।

मंसिरमा ट्राफिक कारबाहीबाट ७ करोड १५ लाख ९३ हजार ४५२ रुपैयाँ राजस्व उठेको छ । यो कात्तिकको तुलनामा २ करोड १८ लाख ४७ हजार ७९१ रुपैयाँ धेरै हो । कात्तिकमा कुल ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ ट्राफिक जरिवाना उठेको थियो ।

जेन-जी आन्दोलनपछि ह्वात्तै घटेको ट्राफिक राजस्व पछिल्ला महिनाहरूमा क्रमशः बढ्दै गएको हो । असोजको तुलनामा कात्तिकमा ५६ प्रतिशतले बढेको थियो भने मंसिरमा ४४ प्रतिशतले बढेको हो । असोजमा ट्राफिक कारबाहीबाट ३ करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ राजस्व उठेको थियो ।

आन्दोलन अघि भने मासिक औसतमा ९ करोड रुपैयाँ बढी राजस्व उठ्दै आएको थियो । गत असारमा १२ करोड ८ लाख र साउनमा मात्रै १० करोड ८८ लाख राजस्व संकलन भएको थियो ।

आन्दोलनका क्रममा देशका दर्जनौं ट्राफिक बिटमा आगजनी हुँदा ट्राफिकका अत्यावश्यक उपकरण समेत जलेका थिए । जसका कारण केही हप्ता नियमित चेकिङ समेत रोकिएको थियो । चेकिङ रोकिँदा नियम उल्लंघन गर्नेलाई कारबाही नहुँदा राजस्वमा गिरावट आएको थियाे।

पछिल्लो दिनमा कारबाही तीव्र पारिएकाले आगामी महिनामा राजस्व झनै बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।


Back_to_top