हाइब्रिड कारको आयात बढ्दै, एउटै ब्राण्डको बजार हिस्सा ८६ प्रतिशत

काठमाडौं । सन् २०२५ (जनवरी-डिसेम्बर १५)मा नेपालमा हाइब्रिड कारको आयात बढेको छ । सन् २०२४ को तुलनामा १४ प्रतिशत अर्थात् ६० युनिट धेरै हाइब्रिड कार आयात भएको हो ।

गत वर्ष ४२९ युनिट हाइब्रिड कार आयात भएकोमा यस वर्ष बढेर ४८९ युनिट पुगेको हो । सन् २०२५ मा ६ ब्राण्डमा हाइब्रिड कार आयात भएको छ । मारुती सुजुकी, टोयोटा, सुवारु, बीएडब्लू, ल्याण्ड रोभर र ग्रेटवाल मोटर्स (जीडब्लूएम)का हाइब्रिड कार आयात भएको हाे ।

सन् २०२५ मा हाइब्रिड कार आयात बढे पनि बजार हिस्सा अति न्यून छ । यस वर्ष कुल १४ हजार ५१८ युनिट कार आयात हुँदा हाइब्रिडको हिस्सा ३.३६ प्रतिशतमै सीमित भएको हो ।

नेपाल जस्तो भूवनोट भएको देशका लागि हाइब्रिड कार निकै उपयोगि मानिन्छ । तर, सरकारकै उच्च कर नीतिले हाइब्रिड कारको बजार हिस्सा बढ्न सकेको छैन ।

सरकारले विद्युतीय सवारीमा कर छुट दिए पनि हाइब्रिडमा कम्बस्चनकै जस्तो उच्च कर लगाएको छ । हाइब्रिड कारमा ३५० प्रतिशतसम्म कर लाग्ने गरेको छ । जसकारण हाइब्रिड कार मूल्य निकै महँगो पर्ने भएकाले बजार पाउन नसकेको हो ।

हाइब्रिडको प्रयोग विश्व्यापी रूपमा रफ्तारमा बढेको छ । नेपालका लागि उपयुक्त हुँदाको बाबजूद सरकारकै कारण नेपालमा भने निकै सुस्त छ । ईभी अझै पनि परीक्षणकालीन समयमा रहँदा हाइब्रिड कारहरू भने सफल भइसकेकाले सरकारले आफ्नो नीति परिवर्तन गर्न जरुरत देखिन्छ ।

एउटै ब्राण्डको हिस्सा ८६ प्रतिशत

सन् २०२५ मा आयात भएका कुल हाइब्रिड कार मध्ये एउटै ब्राण्डको हिस्सा ८६ प्रतिशत रहेको छ । कुल ४८९ हाइब्रिड कार आयात हुँदा मारुती सुजुकीको मात्रै ४२२ युनिट कार आयात भएको हो ।

नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले १ वर्षमा दुई मोडलका ४२२ युनिट हाइब्रिड ल्याएको हो । कम्पनीले ब्रेजा हाइब्रिड ४११ युनिट र ग्राण्ड भिटारा स्मार्ट हाइब्रिड ११ युनिट ल्याएको छ ।

हाइब्रिड ब्रेजामा १.५ लिटर के १५ बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन छ । यसले ९० पीएस पावर र २०० एनएम टर्क प्रदान गर्छ ।

दोस्रोमा जापानी ब्राण्ड टोयोटाका हाइब्रिड कार आयत भएका छन् । टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले साढे ११ महिनामा कुल ५४ युनिट हाइब्रिड ल्याएको छ ।

कम्पनीले र्याभफोर २५ युनिट, यारिस क्रस १९ युनिट र कोरोला क्रस १० युनिट ल्याएको छ । टोयोटाका हाइब्रिड यारिस क्रसमा १.५ लिटर र र्याभफोरमा २.५ लिटर क्षमताको इन्जिन छ । यी कारले प्रतिलिटर १५ देखि २० किलोमिटर माइलेज दिन्छन् ।

टोयोटाले विकास गरेको हाइब्रिड टेक्नोलोजी विश्वभर सफल मानिन्छ । विशेषगरी गाडीमा रहेको ब्याट्री चार्ज गर्न विद्युतीय करेन्टमा जोड्नु नपर्ने भएको कारण धेरैले यसलाई झन्झटरहित मान्छन् ।

सुजुकी र टोयोटा बाहेक अन्य ब्राण्डका हाइब्रिड कार निकै कम संख्यामा आएका छन् । सन् २०२५ मा प्रिमियम ब्राण्ड ल्याण्ड रोभरको डिफेन्डर हाइब्रिड मोडल ७ युनिट आयात भएको छ ।

त्यस्तै, सुवारु क्रसफायर ३ युनिट, जर्मन लग्जरी ब्राण्ड बीएमडब्लूको एक्स फाइभ २ युनिट, ग्रेटवाल मोटर्सको ट्यांक ५०० एक युनिट आयात भएको छ ।


Back_to_top