काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा हराएका थप ६५ वटा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (एसएसपी) नवराज अधिकारीले एक कार्यक्रमका बीच फेला पारिएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ती सवारी साधन फेला परेका हुन् ।
हराएका सवारी फिर्ता पाएपछि सवारीधनीले खुसी व्यक्त गर्दै ट्राफिकलाई खादा लगाउँदै लड्डुसमेत खुवाएका थिए ।
ट्राफिक प्रहरीले महँगो मूल्य पर्ने मोटरसाइकल समेत फेला पारेकाे छ । ट्राफिकले करिब ३५ लाख रुपैयाँ पर्ने अप्रिलियाको मोटरसाइकल फेला पारेको हो ।
बबरमहलबाट हराएको अलिंकन लामिछानेको बा ७७ प ८८४८ नम्बरको अप्रिलिया मोटरसाइलक कालोपुलमा भेटी फिर्ता गरेको हो ।
आज हस्तान्तरण गरेकासहित चालु आवमा ट्राफिकले ४५४ सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । चालु आवमा २ हजार २६ वटा सवारी हराएको भन्दै निवेदन परेको कार्यालयले जनाएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


