काठमाडौं । अमेरिकी प्रिमियम मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनले भारतमा नयाँ इन्ट्री-लेभल क्रुजर मोटरसाइकल उत्पादन गर्ने भएको छ ।
कम्पनीले आफ्नो इन्ट्री-लेभल क्रुजर मोटरसाइकलको नाम ‘स्प्रिन्ट ४४०’ राख्ने अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूले दाबी गरेका छन् । नयाँ स्प्रिन्ट ४४० लाई भारतमा हिरो मोटोकर्पसँगको सहकार्यमा उत्पादन गर्ने भएको हो ।
अहिले भारतमा बिक्री भइरहेको एक्स ४४० सिरिजको सफलतालाई आधार बनाउँदै हार्लेले अब वास्तविक क्रुजर डिजाइन र अनुभव दिनेगरी नयाँ मोडल ल्याउन लागेको हो ।
कम्पनीका अनुसार नयाँ स्प्रिन्ट ४४० हार्ले-डेभिडसनको ‘ब्याक टु ब्रिक्स’ क्रुजर रणनीति अन्तर्गत उत्पादन गर्न लागेको मोटरसाइकल हो । यो रणनीतिले ब्राण्डको परम्परागत क्रुजर पहिचानलाई थप बलियो र उत्कृष्ट बनाउने लक्ष्य राखेको छ ।
नयाँ आउन लागेको मोटरसाइकलको बारे कम्पनीले सार्वजनिक गरेको टिजर स्केच अनुसार स्प्रिन्ट ४४० मा हार्लेका ठूला क्रुजर मोडलहरूकै डिजाइन प्रयोग भएको देखिन्छ । जहाँ गोलाकार हेडलाइट, फराकिलो ह्याण्डलबार, टियरड्रप आकारको फ्युल ट्यांक, स्टेप अप सीट र फ्ल्याट डिजाइनको एग्जस्ट पाइप रहनेछ । जसले हार्लेको पुरानै क्लासिक डिजाइनको झल्को दिने काम गर्छ ।
स्प्रिन्ट मोटरसाइकलको समग्र लुकले हार्लेका लोकप्रिय क्रुजर मोडलहरू स्पोर्टस्टार, सफ्टेल र फ्याटब्वाइको झल्को दिने छ ।
स्प्रिन्ट ४४० मा स्कुप्ड डिजाइनको होचो सीट प्रयोग गरिने छ । मोटरसाइकलमा ४४० सीसीको सिंगल-सिलिण्डर, एयर र आयल कुल्ड, एफआई, बीएस ६ इन्जिन प्रयोग हुनेछ । जुन पुरानो एक्स ४४० मा छ । यो इन्जिनले अधिकतम २७ बीएचपी पावर र ३८ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६-स्पिड गियरबक्स दिइने छ ।
प्रविधिका हिसाबले स्प्रिन्ट ४४० आधुनिक अहिलेको बजार अवस्थालाई सुहाउने खालको हुने अपेक्षा गरिएको छ । यसमा डिजिटल टीएफटी डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, डुअल-च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, राइड मोड लगायतका अन्य एड्भान्स फिचरहरू समावेश हुन सक्नेछन् ।


