चर्चित दुई एसयूभी हाइब्रिड पावरट्रेनमा ल्याउँदै महिन्द्रा

काठमाडौं । विश्व बजारमा परम्परागत सवारीको मागमा परिवर्तन भइरहेका बेला अटो निर्माताहरूले पनि आफ्नो उत्पादन रणनीति पुनरावलोकन गरिरहेका छन् । ठूला कम्पनीहरूले आफ्नो प्रोडक्टलाई विद्युतीय र हाइब्रिडमा केन्द्रित गर्न थालेका हुन् ।

यसैक्रममा, भारतीय अटोमोबाइल उत्पादक महिन्द्राले आफ्ना चर्चित दुई एसयूभी हाइब्रिड पावरट्रेनमा ल्याउने तयारी थालेको छ । महिन्द्राले एक्सईभी नाइन ई र एक्सयूभी ७ एक्सओ हाइब्रिड पावरट्रेनमा ल्याउन अध्ययन गरिरहेको हो ।

स्रोतका अनुसार महिन्द्राले भविष्यका एसयूभीका लागि रेन्ज-एक्सटेन्डर ईभी (ईआरईभी) र स्ट्रङ हाइब्रिड सहितका विभिन्न हाइब्रिड पावरट्रेन विकल्प माथि काम गरिरहेको अटोकार इन्डियाले उल्लेख गरेको छ ।

महिन्द्राले आगामी हाइब्रिड एसयूभी कार्यक्रमसँग सम्बन्धित दुई परियोजनामा काम गरिरहेको छ । कम्पनीले आन्तरिक परियोजना कोड डब्ल्यू ६१३ र डब्ल्यू ६२३ महिन्द्रामा काम गरिरहेको हो । डब्ल्यू ६२३ परियोजना सन् २०२८ तिर आउने कुपे शैलीको एसयूभी हुने अपेक्षा गरिएको छ ।

महिन्द्राले ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी) सँगै हाइब्रिड र अन्य वैकल्पिक इलेक्ट्रीक प्रविधिलाई सन्तुलनमा राख्न नयाँ रणनीति अघि बढाएको हो ।

महिन्द्राले यसअघि आफ्नो इंग्लो नामक प्योर इलेक्ट्रीक प्लेटफर्मका लागि १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०२८ सम्म ईभीको हिस्सा २० देखि ३० प्रतिशत पुग्ने अनुमान गरेको थियो । यही प्लेटफर्मबाट एक्सईभी ९ ई, बीई ६ र एक्सईभी ९ एस जस्ता मोडल विकास भएका छन् ।

तर, गत आर्थिक वर्षमा कम्पनीको कुल बिक्रीमध्ये ईभीको हिस्सा करिब ९ प्रतिशत मात्र रह्यो । यसले बजार क्रमशः इलेक्ट्रीफिकेसनतर्फ बढिरहेकाले थप लचिलो पावरट्रेन आवश्यक भएको संकेत गरेको छ । यसैलाई मध्येनजर गर्दै महिन्द्राले हाइब्रिड पावरट्रेनतर्फ आफ्ना पाइला चाल्न थालेको बताइएको छ ।

एक्सईभी नाइन ईमा रेन्ज-एक्सटेन्डर हाइब्रिड

महिन्द्राले इंग्लो प्लेटफर्ममा आधारित गाडीका लागि रेन्ज-एक्सटेन्डर प्रविधि अध्ययन गरिरहेको छ । एक्सईभी नाइन ई, जसको आन्तरिक कोड डब्ल्यू ६२३ हो । यस प्रविधिको परीक्षणमा रहेको पहिलो मोडलमध्ये एक मानिएको छ ।

सामान्य हाइब्रिडभन्दा फरक, रेन्ज-एक्सटेन्डर प्रणालीमा पेट्रोल इन्जिनले सिधै पाँग्रा चलाउने काम गर्दैन । यसको मुख्य काम ब्याट्री चार्ज गर्न जेनेरेटरको रूपमा काम गर्नु हो । यसले गाडीलाई ईभीजस्तै ड्राइभिङ अनुभव दिन्छ र लामो दूरीको चिन्ता पनि कम गर्छ ।

स्रोतका अनुसार महिन्द्राले यस प्रकारको प्रविधिका लागि प्राविधिक अध्ययन र परीक्षण सुरू गरिसकेको छ । कम्पनीले इंग्लो प्लेटफर्मका लागि सम्भवतः १.२ लिटर र १.५ लिटरका दुई प्रकारका इन्जिन परीक्षण गरिरहेको छ ।

तर, पूर्ण रूपमा ईभीका लागि बनाइएको प्लेटफर्मलाई हाइब्रिडमा रूपान्तरण गर्नु सजिलो छैन । यस्ता प्लेटफर्ममा सुरूदेखि इन्जिन, गियरबक्स, एक्जस्ट प्रणाली र अतिरिक्त कुलिङ उपकरण राख्ने व्यवस्था गरिएको हुँदैन ।

महिन्द्राले गाडीको भित्री संरचना, ताप व्यवस्थापन प्रणाली र सुरक्षा क्षेत्रमा प्रयोग हुने क्रम्पल जोनलाई पनि पुनः डिजाइन गर्नुपर्ने हुन्छ । इन्जिनसँग सम्बन्धित भाग थपिएपछि थप अनुसन्धान, परीक्षण र नयाँ क्र्यास सुरक्षा प्रमाणीकरण आवश्यक पर्नेछ

एक्सयूभी ७ एक्सओमा स्ट्रङ हाइब्रिड प्रविधिको सम्भावना

इंग्लो प्लेटफर्ममा आधारित रेन्ज-एक्सटेन्डर परियोजनासँगै महिन्द्राले हाल प्रयोग भइरहेका पेट्रोल र डिजेल प्लेटफर्ममा आधारित एसयूभीका लागि पनि स्ट्रङ हाइब्रिड प्रविधिको अध्ययन गरिरहेको छ ।

एक्सयूभी ७ एक्सओ यस प्रविधि पाउने पहिलो मोडलमध्ये एक हुने अपेक्षा गरिएको छ । हाइब्रिड संस्करण सन् २०२७ तिर सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

एक्सयूभी सेभेन एक्सओ महिन्द्राको डब्ल्यू ६०१ मोनोकोक प्लेटफर्ममा आधारित छ । स्ट्रङ हाइब्रिड प्रणालीले गाडीलाई छोटो दूरीसम्म पूर्ण विद्युतीय शक्तिमा चलाउन सक्छ । आवश्यक पर्दा इन्जिनले सिधै पाँग्रा पनि चलाउँछ । यो प्रविधि टोयोटाको हाइराइडर र मारूती सुजुकीको ग्रान्ड भिटारामा प्रयोग गरिएको हाइब्रिड प्रणालीसँग मिल्दोजुल्दो हुनेछ ।

किन फेरिँदैछ ईभी रणनीति ?

महिन्द्राको यो कदम विश्व अटो उद्योगमा देखिएको व्यापक परिवर्तनको हिस्सा हो । स्टेलान्टिस, मर्सिडिज बेन्ज, फोर्ड र होण्डा जस्ता कम्पनीहरूले विश्वभर अपेक्षा अनुसार ईभीको माग नबढेपछि आफ्नो ईभी लगानी घटाउने वा पुनः समायोजन गर्ने निर्णय गरेका छन् ।

भारतको यात्रुवाहक सवारी बजारमा हाल ईभीको हिस्सा करिब ४.२५ प्रतिशत मात्र छ, जुन उद्योगले पहिले अनुमान गरेकोभन्दा निकै कम हो । अर्कोतर्फ, चार्जिङ पूर्वाधारमा पूर्ण निर्भर हुन नपर्ने भएकाले हाइब्रिड गाडीप्रति ग्राहकको आकर्षण बढिरहेको छ ।

भविष्यमा लागू हुने कर्पोरेट एभरेज फ्युल एफिसियन्सी (क्याफे) नियम पूरा गर्न पनि महिन्द्राले हाइब्रिड प्रविधिलाई उपयोग गर्ने अपेक्षा गरिएको छ । कम्पनीको एसयूभी लाइनअप अहिले पनि धेरै हदसम्म डिजेल इन्जिनमा निर्भर रहेको छ ।


Back_to_top