काठमाडौं । काठमाडौं महानगरपालिकाले क्यामेरा सहितको ट्राफिक लाइट राख्ने योजना बनाएको छ । काठमाडौं उपत्यकालाई स्मार्ट बनाउनका लागि विभिन्न फिचर सहितको ट्राफिक लाइट रखिने प्रस्ताव महानगरमा आएको नगर कार्यपालिका प्रमुख तथा शहरी सुव्वस्थापन विभाग प्रमुख हरीबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका मुख्य-मुख्य चोकमा राखिने उक्त क्यामेरासहितको ट्राफिक लाइटले सबै सवारीको क्रियाकलापलाई रेकर्ड गर्ने छ । सो क्यामेरासहितको ट्राफिक लाइटलले कैद गरेको भिडियोलाई प्रत्येक्ष ट्राफिक महाशाखाबाट निरिक्षण गर्न सकिने छ ।
साथै कुनै सवारीले नियम मिचेको खण्डमा उनीहरुको गाडी नम्बरको सहयोगबाट घरसम्मै जरिवानाको चीटसमेत पुर्याउने व्यवस्था मिलाउन योजना बनाइएको उनले बताए ।
उक्त योजनाका फाइनान्सियल कन्सलटेन्ट भाष्कर ठाकुर भन्छन्, ‘उपत्यकाको सुरक्षाका लागि यस्तो व्यवस्था ल्याउन आवश्यक रहेको छ ।’ उनका अनुसार बाटोमा राखिने क्यामेरासहितको ट्राफिक लाइटले लाइटको मात्र काम नगरी ट्रफिक अनुशासनलाई निरिक्षण गर्ने कामसमेत गर्नेछ ।
बाटोमा हुने घटना तथा सवारीमा हुने अनुशासन हिन कृयाकलापलाई समेत नियन्त्रण गर्न सकिने ठाकुरले बताए ।
‘बाटोमा दैनिक हजारौँले लाइन मिच्छन्, कोही फोनमा कुरा गर्दै गाडी गुडाउछन्, कोही फुटपाथमा गाडी पार्किङ गर्छन् । यी सबै कृयाकलापलाई हामी क्यामेराको माध्यमबाट नियन्त्रण र कारबाहीको दायरामा ल्याउन सक्छौँ,’ ठाकुरले मेरोअटोसँग भने ।


