काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने नारायणी पुलमा ठूला सवारीसाधन संचालनमा रोक लगाइएको छ।
नारायणी नदीमा बाढीले खतराको तह नाघेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ठूला गाडी चलाउन रोक लगाइएको हो ।
पुल पुरानो भएको र नदीको तीव्र बहावका कारण पुल अत्यधिक हल्लिएपछि ठूला सवारी संचालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । यद्यपि, मोटरसाइकललाई भने आवतजावत गर्न दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैंडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटतर्फ नै रोकिएको छ।
नदीमा पानीको बहाव घटेपछि मात्रै पुलबाट सवारी साधन पूर्ण रूपमा संचालन गर्न दिइने प्रहरीले जनाएको छ।
त्यस्तै, जोखिमको बेवास्ता गर्दै बाढी हेर्न पुलमा उभिने क्रम बढेपछि प्रहरीले पैदलयात्रीलाई पुल माथि बसेर तस्बिर तथा भिडिओ खिच्न रोक लगाएको छ ।
यसैबीच, देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११.९१ मिटर पुगेको थियो । उक्त केन्द्रमा ७.३ मिटरलाई ‘चेतावनीको तह’ र ९ मिटरलाई ‘खतराको तह’ मानिन्छ । केन्द्रका अनुसार नदीमा बहाव अझै बढ्दो क्रममा छ।

