नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल व्यवसायीलाई प्रशिक्षण

बुटवल । नाडाअटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहकार्य र लुम्बिनी अटोमोबाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनीमा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । सो कार्यक्रममा लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोबाइल्स व्यवसायी, नाडाका सदस्य लगायत १२५ जनाको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरूको समस्यासँग जुध्न र उनीहरूको क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा राखे । उनले सबै क्षेत्रका व्यवसायीको व्यवसायीक कार्यक्षमता विकास आवश्यक रहेको बताए ।

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरूले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।

त्यसैगरी, भैरहवा आन्तरिक राजस्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजस्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजस्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भीसीटीएस व्यवसायीकै हकहितको लागि भएको भन्दै सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृति पूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले कर छलीमा राजस्व अनुसन्धानले शून्य सहनशीलताको नीति अपनाउने धारणा राखे ।

लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरूको वृत्ति विकासम ठूलो भूमिका खेलेको भन्दै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरूलाई अन्यकार्यक्रमहरू पनि संचालन गर्ने बताए ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए । कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्य यमुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


Back_to_top