काठमाडौं । विश्व अटोमोबाइल क्षेत्र नै विद्युतीय सवारीसाधनको बहसमा रुमलिएको छ । पेट्रोलियम पदार्थको उपभोगसँग पृथ्वीको आयु र मानव स्वास्थ्य जोडिएको कारण संसारभर यसको प्रयोग घटाउने विषयमा छलफल चलिरहेको छ ।
त्यसमा पनि नेपाल जस्तो क्लीन इनर्जीको उपलब्धता भएको देशमा विद्युतीय गाडीको चर्चा हुनु स्वाभाविक हो । चौधरी समूहले यही भीडमा होजोन मोटर्सले उत्पादन गरेको विद्युतीय गाडी नेटा भी बजारमा उतारेसँगै यसको मूल्यलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् । कसैले यसलाई भ्यालू फर मनी भनेका छन् भने कसैले अत्याधिक नाफा राखियो भनेका छन् ।
ग्राहकबाट आउने क्रिया र प्रतिक्रिया सधैं निरन्तर चलिरहन्छ । जुन प्रक्रिया र आरोपबाट नेपालमा विक्री हुने सबै गाडी पर्दै आएका छन् । त्यसैले होजोनको नेटा भी र टाटाले भारतमा उत्पादन गरेको नेक्सन ईभीको बीचमा कुन गाडीमा कति फरक पाउन सकिन्छ भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौं । यहाँ चर्चा गर्दा हामीले मुख्यतया मूल्य, रेन्ज, डिजाइन र पावरलाई केन्द्रमा राखेका छौं ।
मूल्य
नेटा भी एउटा मात्रै भेरियन्टमा नेपाल आएको छ । यो एउटा स्मार्ट क्रसओभर कार हो । क्रसओभर कार भएकै कारण यसको मूल्य नेक्सनभन्दा कम रहेको छ । सीजी मोटरले नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने उसले एउटा ६.६ किलोवाटको होम चार्जर र एक वर्षको बीमा शुल्क दिने घोषणा गरेको छ ।

सिप्रदी ट्रेडिङले विक्री गर्दै आएको नेक्सन ईभी विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले एक्सएम भेरियन्टको मूल्य ३७ लाख ९९ हजार, एक्सजेड प्लस भेरियन्टको ३९ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको ४१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ । सिप्रदीले कुनै पनि अफर ग्राहकलाई दिएको छैन ।
रेन्ज
दाबी गरिएको रेन्ज नेटा भीको धेरै छ । कम्पनीले ३८६ किलोमिटर रेन्ज दाबी गरेको छ । यद्यपि, अहिलेसम्म बजारमा उपलब्ध गाडीले दाबी गरेको रेन्जको तुलनामा निकै कम पर्फमेन्स गरिरहेका छन् । यसलाई फुलचार्ज खत्तम हुनेगरी अहिलेसम्म परीक्षण गरिएको छैन । त्यसैले यसको रेन्ज कति भन्ने एकीन गर्न अहिल्यै कठिन छ ।
टाटा नेक्सन ईभीको एआरएआइले प्रमाणित गरेको रेन्ज ३१२ किलोमिटर हो । तर, अहिले सडकमा गुडाइरहेका ग्राहकले २२० देखि २५० किलोमिटरभन्दा माथि पाउन सकेका छैनन् ।
तर, यी दुवैको ब्याट्री साइज र गाडीको तौललाई हेर्दा नेटा भीले धेरै रेन्ज दिन सक्छ । टाटाले नेक्सनमा ३०.२ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ भने नेटा भीमा ३८.५ किलोवाट आवरको छ । गाडीको कुल तौल पनि नेक्सनभन्दा नेटा भीको कम छ ।
ग्राउन्ड क्लियरेन्स र साइज
ग्राउन्ड क्लियरेन्समा टाटा नेक्सनलाई टक्कर दिने गाडी अहिलेसम्म नेपाल आएको छैन । नेक्सन ईभीमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । तर, नेटा भीमा भने १६० एमएमको मात्रै ग्राउन्ड क्लियरेन्स रहेको छ ।
अन्य साइजको कुरा गर्दा नेटा भीको लम्बाइ ४०७० एमएम, चौडाइ १६९० एमएम र उचाइ १५४० एमएम रहेको छ । यसमा २४२० एमएमको ह्वीलबेस रहेको छ । डिजाइनमा क्रसओभर भएको कारण यसमा १६ इन्चको ह्वीलको बाबजुद गाडी सानो लाग्छ ।
टाटा नेक्सन ईभीको लम्बाइ ३९९३ एमएम, चौडाइ १८११ एमएम र उचाइ १६१६ एमएम रहेको छ । यसमा २४९८ एमएमको ह्वीलबेस रहेको छ । नेटा भीमा ३३५ लिटरको बुट स्पेश रहँदा नेक्सन ईभीमा ३५० लिटरको स्पेश पाउन सकिन्छ । दुवै गाडी ५ सिट क्षमताका हुन् ।
पावर
पावरमा टाटा नेक्सन ईभी अब्बल छ । नेक्सनमा ९५ किलोवाट क्षमताको मोटर छ भने नेटा भीमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सानो मोटर र क्रसओभर डिजाइन भएकै कारण यसलाई सहर केन्द्रीत गाडी मानिएको हो ।

टाटा नेक्सन आफ्नो सेग्मेन्टमा पावरफुल गाडी मानिन्छ । कम्पनीले एसयूभी डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र पावरफुल मोटर दिएको कारण नेपालको खराब बाटाहरूमा पनि यसलाई सहजै चलाउन सकिन्छ ।
सुरक्षा फिचर
दुवै कारमा सामान्य सुरक्षा फिचर एबीएस, इबीडी, पावर विन्डो, सेफ्टी लक, दुई एयरब्याग, सिटवेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर, पार्किङ क्यामेरा जस्ता फिचर छन् । दुवै कारमा एड्भान्स सेफ्टी फिचर समेत दिइएको छ । नेक्सन हिल एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, कर्नर स्टेबिलिटी कन्ट्रोल, पंचर रिपियर किट, पेनिक नोटिफिकेशन जस्ता फिचर छन् ।
होजोन नेटा भीमा पनि इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर, भेहिकल मेन्टीनेन्स रिमाइन्डर, हाइड्रोलिक ब्रेकिङ सिस्टम दिइएको छ ।
अन्त्यमा, तपाईंले आफ्नो प्रयोग अनुसार गाडी छनोट गर्न सक्नुहुन्छ । पहाडी बाटोमा चलाउनेको लागि नेक्सन उत्कृष्ट छनोट हुन्छ भने सहरमा नेटा भी राम्रो देखिन्छ । यसको मतलब नेक्सन सहरको लागि उपयुक्त छैन भन्ने होइन । एउटा चिनियाँ उत्पादक र एउटा भारतीय उत्पादक भएको कारण ग्राहकको नजरमा पनि फरक पर्न सक्छ ।
टाटाको ७५ वर्ष लामो इतिहास र लिगेसी छ भने होजोनको जन्म नै ७ वर्ष अगाडि भएको हो । नेपालमा टाटाले चार्जिङ नेटवर्क विस्तारदेखि आफ्नो सर्भिस र नेटवर्क विस्तारमा धेरै लगानी गरिसकेको छ भने होजोनले हिजोबाट मात्रै यसमा लगानी सुरू गरेको मान्न सकिन्छ ।

