बिजुली गाडीको बेहाल, ३० करोडका गाडी सड्ने अवस्थामा

भैरहवा । ‘कुरो एउटा काम अर्को’ भने जस्तै राज्य संयन्त्रको चरम लापरवाहीको कारण बिजुली गाडीको बेहाल भएको छ । यो बेहाल देख्न सकिन्छ लुम्बिनी विकास कोषको कम्पाउन्ड सुरु भएको केही मिनेट मै । बिजुलीबाट चल्ने बस, भ्यान र चाजिङ स्टेशन गरेर यहाँ ३० करोड रुपैयाँ लगानी भएको छ ।

विक्रम सम्बत २०७५ साल कार्तिक ६ गते तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ठूलो तामझामको साथ शुभारम्भ गरेको बिजुली गाडी अहिले लुम्बिनी विकास कोष परिसरमा थन्किएका छन् । यसलाई चलाउने कार्यविधि नभएको भन्दै चल्न दिइएको छ ।

सुरुमा साझा यातायातलाई चलाउन दिने र लुम्बिनी भैरहवाको पूर्वाधर तयार भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टदेखि लुम्बिनीसम्म यी विद्युतीय गाडी संचालन गर्ने जनाइएको थियो ।

गाडी उत्पादक कम्पनी बीवाइडी र संस्कृति तथा पर्यटन मन्त्रालयको बीचमा सहमति बन्न नसक्दा लामो समय बिवादमा परेको यो बस अन्तत लुम्बिनी विकास कोष परिसरमा आएर थन्केको छ । यहाँ ५ वटा विद्युतीय ठूला बस मात्रै होइन ११ थान ५ सिट क्षमताकोे बहुउपयोगी भ्यान (एमपीभी) पनि छ । यी सबै गाडी लुम्बिनी प्रदेशमा दर्ता भएको छ ।

यसलाई संचालन गर्ने विषयमा प्रदेश सरकारले काम गरिरहेको लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले जानकारी दिइन ।

मन्त्री ढेगामगरका अनुसार अहिले यसको संचालन कार्यविधि निर्माण भइरहेको र चाँडै यसमा संचालनमा ल्याउन आवश्यक बजेट व्यवस्थापन गर्ने काम मन्त्रालयले गर्ने छ ।

एशियाली विकास बैंकको वित्तीय अनुदानमा किनिएको यी सवारीसाधन भैरहवा एयरपोर्टदेखि लुम्बिनीसम्म चलाउने हो भने आन्तरिक वाह्य पर्यटन प्रवद्धनमा महत्वपूर्ण कदम हुने दखिन्छ ।

अहिले यसखण्डको बाटो निकै राम्रो बनेको छ भने एयरपोर्ट र कोष परिसरमा चार्जिङ नेटवर्क तयारी अवस्थामा छन् । लुम्बिनी विकास कोष परिसरमै बनेको सोलारबाट संचालन हुने चाजिङ स्टेशनपनि गाडी संचालनमा नआउँदा त्यतिकै बन्द छन् । यी साधन चलाउने हो भने चाजिङ स्टेशनको प्रयोग हुने थियो भने पेट्रोल र डिजेल पनि बचत हुने थियो । वातावरणमा त्यसको सकारात्मक प्रभाव त थियो नै ।

चार्जिङ नेटवर्क र विद्युतीय गाडी थन्काइएको स्थानमा भेटिएका नाडा अटोमोइल्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल निकै निरास देखिन्थे ।

उनि भन्दै थिए, ‘हाम्रो देश अरुले दिएको अनुदानमा समेत चरम राजनीति गरेर बस्छ । अनि संसदमा चर्का भषणबाजी हुन्छ । विद्युतीय सवारी चलाउने गफ गरिरहँदा यत्रो ठूलो लागनी डम्प गर्ने योजना सरकारको देखियो । यसको जिम्बेवारी कसैले लिनु पर्दैन ?’

हिजो शनिवार दिउँसो त्यहाँ पुग्दा एकजना कुरुवा बाहेक त्यहाँ अरु कोही भेटिएनन् । ती कुरुवाका अनुसार यहाँ टिकटक बनाउने र फोटो खिच्ने मानिस मात्रै आउने गरेका छन् । सबै आएर भिडियो बनाउँछन्, फोटो खिच्छन् तर, हाकीमलाई भेटेर गाडी किन नचलाएको भन्ने कुरा सोध्दैनन् ।


Back_to_top