काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएस विश्वको तेस्रो ठूलो दुईपाँग्रे ब्राण्ड बनेको छ । टीभीएसले पहिलोपटक यामाहालाई पछिपार्दै बिक्रीमा आधारमा तेस्रो स्थानमा उक्लिन सफल भएको हो ।
टीभीएसले सन् २०२५ मा विश्वभर ५४ लाख ६० हजार युनिट मोटरसाइकल र स्कुटर बिक्री गरेको छ । यो सन् २०२४ को तुलनामा ९ लाख ४० हजार युनिट धेरै हो ।
टीभीएसले उछिनेको यामाहाले भने सोही अवधिमा ५० लाख युनिट बिक्री गर्दै चौथो स्थानमा पुगेको छ ।
विश्व बजारमा सबैभन्दा धेरै दुईपाँगे्र बिक्री गर्नेमा जापानी ब्राण्ड होन्डा शीर्ष स्थानमा छ । होन्डाले सन् २०२५ मा १ करोड ६४ लाख युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ ।
दोस्रो स्थानमा भारतीय ब्राण्ड हिरो नै यथावत छ । त्यस्तै, गत वर्ष ६२ लाख ५० हजार युनिट दुईपाँग्रे सवारी बिक्री गर्दै हिरो मोटोकर्पले दोस्रो स्थानमा रहेको छ । हिरोले तेस्रो स्थानमा रहेको टीभीएस भन्दा हिरो ७ लाख ९० हजार युनिट धेरैले अगाडि छ ।
भारत र नेपालसँगै विश्व बजारमै टीभीएसको बजार हिस्सा राम्रै बढ्दै गइरहेको छ । हाल टीभीएस ब्राण्डको एसीया, अमेरिका, युरोप, अफ्रिका लगायतका देशहरूमा निकै माग बढ्दो छ ।
पछिल्लो समय टीभीएसको इलेक्ट्रीक टु-ह्वीलरको मासिक बिक्री डाटा सबैभन्दा उच्च रहेको छ । टीभीएसलाई तेस्रो स्थानमा आइपुग्न इलेक्ट्रीक सेग्मेन्टको निकै ठूलो भूमिका छ । यसका अलावा टीभीएसको १०० सीसी देखि ३१० सीसीसम्मका दुईपाँग्रे मोडलहरू उपलब्ध छन् ।
त्यस्तै, हिरोको बजारमा १०० सीसी देखि २५० सीसीसम्मका मोडलहरू उपलब्ध छन् । होन्डाले भने साना सेग्मेन्टसँगै ठूला इन्जिन क्षमतामा पनि सुपर बाइकहरू उत्पादन र बिक्री गर्दै आइरहेको छ ।
यी तीनै ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरूले नेपालमा पनि राम्रै पकड जमाइरहेका छन् ।

