टीभीएसको प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक हुँदै, परीक्षण सुरू

काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर नेपालमा चाँडै बिक्री सुरू हुने भएको छ । टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दोस्रो इलेक्ट्रीक स्कुटरको रूपमा टीभीएस एक्स सार्वजनिक गर्ने तयारी थालेको हो ।

कम्पनी स्रोतका अनुसार ‘टीभीएस एक्स’ हाल नेपालका विभिन्न सडकमा परीक्षण भइरहेको छ । सडक परीक्षणपछि बिक्री सुरू थालिने कम्पनीले जनाएको छ । यद्यपि, आधिकारिक मिति घोषणा भएको छैन ।

टीभीएस एक्स प्रिमियम सेग्मेन्टको इलेक्ट्रीक स्कुटर हो । टीभीएस मोटर्सले पहिलो पटक अगष्ट २०२३ मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित बुर्ज खलिफा टावरमा यो स्कुटर सार्वजनिक गरेको थियो ।

यो स्कुटरमा टिल्ट गर्न मिल्ने १२.२ इन्चको टीएफटी डिस्प्ले दिइएको छ । यसका अलावा यसमा क्रुज कन्ट्रोल, रिर्भस असिस्टेन्स, स्मार्ट कनेक्ट फिचर, लाइभ भिडियो स्ट्रीमिङ, अन वोर्ड गेम, वेब ब्राउजर, लाइभ लोकेशन सेयरिङ, की–लेस, एलईडी हेडलाइट, एन्टिथेफ्ट अर्लाम जस्ता फिचर छन् ।

टीभीएस एक्समा ११ किलोवाट पिक पावर क्षमताको मोटर दिइएको छ । यो स्कुटर ०-४० किलोमिटर मात्र २.६ सेकेण्डमा पूरा गर्छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो स्कुटरमा ४.४४ किलोवाट आवरको ब्याट्री दिएको छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिन्छ भने यसमा ब्याट्री रिजेनेरेशन सिस्टम समेत उपलब्ध छ । फास्ट चार्जिङ सुविधा पाउन सकिन्छ ।

टीभीएस एक्सको मूल्य भारतीय बजारमा मूल्य २ लाख ६४ हजार भारु (एक्स शोरुम) छ ।


Back_to_top