काठमाडौं । आगामी भदौ ११ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा विद्युतीय कारको बहुल्यता रहने भएपनि दुई नयाँ पेट्रोल एसयूभी पनि प्रदर्शनी हुँदैछन् ।
अटो शोमा हुन्डाई र महिन्द्राले नयाँ एसयूभी बिक्री सुरु गर्ने तयारी गरेका हुन् । कम्पनीहरुले ल्याउन लागेको एसयूभीमा नयाँ हुन्डाई क्रेटा र महिन्द्रा थ्रीएक्सओ छन् । यी दुबै गाडी काठमाडौं आउने क्रममा छन् ।

हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडल क्रेटालाई फेसलिफ्ट गरेर भारतमा बिक्री सुरु गरेको ६ महिना पुगिसकेको छ । ६ महिनाको अवधिमा १ लाख यूनिटभन्दा बढी बिक्री भइसकेको छ ।
महिन्द्राको सब फोर मिटर एसयूभी थ्रीएक्सओ बुकिङ खुल्ला भएको केही घन्टामा नै १ लाख यूनिट बुकिङ भएको एसयूभी हो । यी दुबै एसयूभी चाँडै इलेक्ट्रीक भर्सनमा पनि उपलब्ध हुने भएका छन् ।
दुबैमा पेट्रोल इन्जिन
हुन्डाईले क्रेटा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । रेगुलर इन्जिनले अधिकतम ११५ पीएस पावर प्रदान गर्छ भने टर्बो इन्जिनले अधिकतम १५८ पीएस पावर दिन्छ ।
महिन्द्राले थ्रीएक्सओमा १.५ लिटर टर्बो डिजेल, १.२ लिटर टिसिएमपी एफआई र १.२ लिटर एम स्टेलन टीजीडीआई इन्जिन दिएको छ । टीजीडीआई इन्जिन टप दुई भेरियन्टमा मात्रै उपलब्ध छ । यसमा रहेको इन्जिनले ११० देखि १३० पीएस पावर प्रदान गर्छ ।
चाँडै ईभीमा पनि आउँदै
यी दुबै एसयूभीको इलेक्ट्रीक भर्सन आउने पक्का भइसकेको छ । महिन्द्राले थ्रीएक्सओ मोडलको ईभी भर्सन प्रोडक्सन सुरु गर्न लागि सकेको छ । कम्पनीले अक्टोबरसम्ममा थ्रीएक्सओको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्नेछ ।
त्यस्तै हुन्डाई क्रेटाको इलेक्ट्रीक भर्सन पनि नोभेम्बरसम्म सार्वजनिक हुनेछ । आगामी जनवरीबाट बिक्री सुरु हुने क्रेटा ईभीमा रहने धेरै फिचरहरु बाहिर आइसकेका छन् ।
आगामी माघ महिनासम्ममा ईभी भर्सन पनि नेपाल आउने यी दुई एसयूभीको पेट्रोल भेरियन्टले आगामी चाडपर्वको सिजनमा कस्तो ब्यापार गर्छन्, त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।

