उपत्यकाबाटै हराउँछन्, दैनिक पाँच मोटरसाइकल

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा उपत्यकाभित्रबाट ७ सय ८० वटा दुईपाङ्ग्रे सवारीसाधन हराएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म हराएका दुईपाङ्ग्रे सवारीसाधनमध्ये मोटरसाइकलको सङ्ख्या बढी रहेको छ ।

महाशाखाले हराएकामध्ये १ सय ९१ वटा दुईपाङ्ग्रे सवारीसाधन अनुसन्धानमा ल्याएको थियो भने अनुसन्धानमा आएकामध्ये २७ वटा मोटरसाइकल सवारीधनीलाई जिम्मा दिइएको छ । त्यस्तै, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चोरी भएकामध्ये थप १ सय ६ वटा  मोटरसाइकल र स्कुटर सवारीधनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ । यसरी यस आर्थिक वर्षमा १३३ वटा चोरी भएका मोटरसाइकल अनुसन्धान गरी सवारीधनीलाई जिम्मा दिइएको छ ।

महाशाखाको तथ्याङ्कअनुुसार गत साउन महिनामामात्रै १ सय ४२ वटा मोटरसाइकल र स्कुटर हराएको थियो भने जम्मा २ वटा मोटरसाइकल अनुसन्धानको क्रममा फेला परेको थियो । त्यस्तै, भदौ महिनामा १ सय ३१ मोटरसाइकल र स्कुटर हराएकोमा जम्मा  ५ वटा मोटरसाइकल फेला पारी सवारीधनीलाई बुझाइएको थियो ।

असोजमा १ सय ६५ वटा दुईपाङ्ग्रे सवारी हराएका थिए भने ४ वटा मोटरसाइकल सवारी सवारीधनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ । कात्तिकमा हराएका १ सय २६ वटा मोटरसाइकल तथा स्कुटरमध्ये ३ वटामात्रै फेला परेको थियो । त्यस्तै, मंसिर महिनामा हराएका १ सय २३ मोटरसाइकल तथा स्कुटरमध्ये जम्मा ६ वटा मोटरसाइकल फेला पारी सवारीधनीलाई जिम्मा लगाइएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

पुस महिनाको हालसम्म आइपुग्दा ९३ वटा मोटरसाइकल हराइसकेका छन् । अहिले दैनिक ५ वटासम्म मोटरसाइकल हराएको उजुरी आउने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा एक हजार ३ सय ८१ मोटरसाइकल, स्कुटर हराएको उजुरी परेको थियो । त्यसमध्ये जम्मा ६ सय ८२ मात्रै फेला परेको प्रहरीको रेकर्डमा देखिएको छ । यस वर्ष मोटरसाइकल चोरीमा संलग्न ३६ जना पक्राउ परेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा एक हजार १४ मोटरसाइकल र स्कुटर हराएको उजुरी परेको थियो । यसमध्ये ५ सय ७३ वटा फेला परेको र चोरी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

महाशाखाका प्रवक्ता जयराज सापकोटाले पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल र स्कुटर चोरीको निवेदन बढी आउन थालेको बताएका छन् ।

‘उपत्यकाबाट मोटरसाइकल, स्कुटर चोरी गर्ने गिरोह नै सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ । ती मोटरसाइकल काठमाडौं आसपासका जिल्लाहरूमा चलाउने उद्देश्यले चोरी गर्ने गरेको पत्ता लागेको छ । यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी सतर्क रहेको छ’, सापकोटाले मेरोअटोसँग भने ।

उनकाअनुसार उपत्यकाबाट चोरी गरेका सवारीसाधन बाहिरी जिल्लामा लैजाँदा चेक–जाँच कम हुने र चलाउन सजिलो हुने हुँदा चोरी गर्ने गिरोहले उपत्यकाबाहिर लैजाने गरेको पाइएको बताए । चोरी गरेका मोटरसाइकलहरूको वास्तविक नम्बर प्लेट परिवर्तन गरेर समेत चोरी गर्ने गिरोहले चलाउने गरेको उनको भनाई छ ।


Back_to_top