मोटरसाइकलमा हुने एयर, आयल र लिक्विड कुल्ड इन्जिनमा कति फरक

काठमाडौं । इन्जिन कुलिङ सिस्टम एक अत्यावश्यक सिस्टम हो । जसले हाम्रो मोटरसाइकलमा हुने इन्जिनको तापक्रमलाई स्थिर राख्न मद्दत गर्छ । उसोत इन्धनबाट चल्ने सबै सवारी साधनमा यो सिस्टम जडान गरिएको हुन्छ ।

इन्जिनमा कुलिङ सिस्टम नहुने हो भने इन्जिन अत्याधिक तात्न गई आगलागि हुने अथवा इन्जिन नै बन्द हुने अवस्था आउँथ्यो । मोटरसाइकलमा हुने इन्जिन पेट्रोलबाट चल्ने इन्जिन हो । यो इन्जिनमा फ्यूल ट्याङकमा रहेको फ्यूल पाइप हुँदै इन्जिनमा आउँछ अनि कम्बस्चन चेम्बरमा जल्छ । फलस्वरुप दुई प्रकारको इनर्जी उत्पन्न हुन्छ ।

पहिलो मेकानिकल इनर्जी जसका कारण बाइकले गति प्राप्त गर्छ भने दोस्रो हिट इनर्जी उत्पादन हुन्छ ।

मेकानिकल इनर्जीबाट मोटरसाइकल चल्छ भने हिट इनर्जी मोटरसाइकल संचालनमा कुनै उपयोग हुँदैन । उल्टो यो इनर्जीले मोटरसाइकलको प्रफर्मेन्समा गिरावट ल्याउनुका साथै इन्जिन तातेर बन्द हुने समस्या आउँछ । यसलाई कम गर्न उत्पादकले विभिन्न तरिका अपनाएर इन्जिनलाई कुल डाउन गराउँ छन् ।

इन्जिन कुलिङ गर्न अहिले चल्तीमा रहेका एयर कुल्ड, आयल कुल्ड तथा लिक्विड कुल्ड इन्जिनको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. एयर कुल्ड इन्जिन

एयर कुल्ड इन्जिन टेक्नोलोजी कन्भेन्सनल टेक्नलोजी हो । यो टेक्नलोजी विषेशत १५० सीसीसम्मका मोटरसाइकलहरुमा प्रयोग हुने गरेकाे छ । कुनै–कुनै कम्पनीका बाइकहरुले २०० सीसीसम्मका मोटरसाइकलमा एयर कुल्ड टेक्नलोजीको प्रयोग गर्ने गरेका छन् । यो टेक्नलोजी एकदमै सामान्य टेक्नलोजी हो ।

एयर कुल्ड इन्जिनमा कम्बस्चन चेम्बर रहेको भागको वरिपरि गहिरो धार बनाइएको हुन्छ । यसमा बाहिर वातावरणको हावा पर्दा हावाको तापक्रमले इन्जिनलाई चिसो गर्न सघाउ पुर्याउँछ । यसको प्रयोग धेरैअघिबाट गरिएको हुनाले अहिले कम्यूटर सेग्मेन्टका धेरै मोटरसाइकलमा अहिले प्रयोग भइरहेको छ ।

२. आयल कुल्ड टेक्नोलोजी

अयल कुल्ड इन्जिन टेक्नलोजी एयर कुल्डपछि आएको दोस्रो कुलिङ टेक्नोलोजी हो । नेपालमा आएका बाइकहरु मध्य पहिलो पटक बजाज २२० मा यो टेक्नोलोजी प्रयोग भएको थियो । यो टेक्नोलोजीमा एयर कुल्ड इन्जिनको अगाडि थप एक कम्पोनेन्ट रेडियटर समेत जडान गरिएको हुन्छ । यो कुलिङ टेक्नोलोजीमा इन्जिनमा प्रयोग भएको लुब्रिकेन्टले इन्जिनलाई नै चिस्याउने काम गर्छ ।

यो प्रक्रियामा इन्जिनमा रहने लुब्रिकेन्टलाई इन्जिनको ठिक तलबाट एउटा पाइप मार्फत अगाडि रहेको रेडियटरमा पठाइन्छ । जहाँ बाहिरी हावाको सम्पर्कमा आएको रेडियटरले इन्जिन चल्दा तातेको लुब्रिकेन्टलाई चिस्याउने काम गर्छ । रेडियटरबाट चिसिएको लुब्रिकेन्ट फेरि इन्जिनमा जाँदा यसले इन्जिनको तापक्रमलाई केही मात्रामा घटाउन सहयोग पुर्याउँछ ।

३. लिक्विड कुल्ड टेक्नोलोजी

लिक्विड कुल्ड टेक्नोलोजी सबैभन्दा आधुनिक कुलिङ टेक्नोलोजी हो । माथि चर्चा गरिएका एयरकुल्ड तथा आयल कुल्डभन्दा बिल्कुलै फरक टेक्नोलोजी हो । यसमा एयर कुल्डमा जस्तो इन्जिनको आवरणमा गहिरो धार पनि हुँदैन भने आयल कुल्डमा जस्तो इन्जिनमा रहेको लुब्रिकेन्टलाई रेडियटरमा लगेर चिस्याउने पनि काम हुँदैन ।

यसमा पनि रेडियटर दिइएको हुन्छ तर, रेडियटरमा फ्यान समेत हुन्छ । जसले लिक्विडलाई छिटो चिस्याउन मद्दत गर्दछ । यसमा हालीने लिक्विड एक विषेश खालको लिक्विड हो, जसलाई इन्जिनको तापक्रमले नभेट्ने ठाँउमा स्टोर गरिएको हुन्छ । यो लिक्विडलाई कुलायन्ट भनिन्छ ।

कुलायन्टमा ७० प्रतिशत पानी र ३० प्रतिशत केमिकल रहेको हुन्छ । यो टेक्नोलोजीमा रेडियटरबाट केही पाइपहरु इन्जिन भित्रसम्म पुर्याइएकोे हुन्छ, जसले रेडियटरमा चिस्याइएको चिसो लिक्विडको मद्दतले इन्जिन चिस्याउने गर्छ । यो हालसम्मको आधुनिक टेक्नलोजी हो । अहिलेका सबै पावरफुल तथा प्रफर्मेन्स मोटरसाइकलमा यसको प्रयोग गरिएको हुन्छ ।


Back_to_top