काठमाडौं । अमेरिकन कम्पनी उबरले यातायात व्यवस्थापनलाई ध्यानमा राख्दै फ्लाईङ ट्याक्सी निर्माणको अवधारणा अगाडि ल्याएको छ ।
बढ्दै गएको सहरी भीड कम गर्ने उद्देश्यसहित उबरले प्रोपोटाइप भेकल्स निर्माण गर्ने भएको हो ।
अमेरिकाको लस एञ्जेलसमा आयोजित दोस्रो वार्षिक एलिभेट सम्मेलनमा उबरले हेलिकप्टर र ड्रोनलाई जोडेर निर्माण गरिएको फ्लाईङ कारको प्रदर्शन गरेको थियो ।
उबर एभिएसन उत्पादनका प्रमुख निखील गोयलले विश्वको गतिशिलतालाई सुधार्न उबरले महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले इलेक्ट्रीक फ्लाईङ ट्याक्सीले प्रतिघण्टा ३०० किलोमिटर पार गर्ने बताएका छन् ।
फ्लाईङ ट्याक्सी एकपटक फूल चार्ज गरेपछि १००० किलोमिटर दूरी पार गर्ने गोयलले बताए । गोयले भने ‘ट्याक्सीले धेरै रफ्तार पकड्न सक्छ । यसको रफ्तारसँगै संघीय उड्डयन प्रशासन तथा आम–नागरिकलाई यसको सुरक्षाको प्रत्याभूति दिलाउने छौं । यी ट्याक्सी निक्कै सुरक्षित छन् भनेर प्रमाणित गर्नेछौं ।’
फरक मार्ग रोज्दै उबर
उबरले सन् २०२० मा फ्लाईङ ट्याक्सीको उडान परीक्षण गर्ने तथा २०२३ बाट बजारमा सञ्चालन गर्ने घोषणा गरेको छ । उबरले अन्य सवारीसाधनको जस्तै फ्लाईङ ट्याक्सीको अर्डर पनि सजिलै गर्न सकिने जनाएको छ ।
उबर एभिएसनका हेड इरिक एलिसनले प्रतिव्यक्ति एउटा कार चलाउने प्रवृत्तिलाई कम गर्नु उबरको उद्देश्य भएको बताएका छन् । ‘परम्परागतरुपमा रहेको एक व्यक्ति, एक कारको मान्यतालाई फ्लाईङ ट्याक्सीले तोड्ने आशा गरेका छौं । यसको मूल्य पनि सोचेभन्दा कम हुनेछ ।’ उनले भने ।
फ्लाईङ कारको अवधारणा
फ्लाईङ कारमा अनिवार्य पाइलट रहने उबरले जनाएको छ । एलिसनले भविष्यमा स्वायत्त फ्लाईङ ट्याक्सी निर्माण गर्ने अवधारणा रहेको बताएका छन् । लस एञ्जलेसमा आयोजित एक कार्यक्रममा उबरले फ्लाईङ कारको मोडल, बनावटको विषयलाई समेटेर निर्माण गरिएको फिल्म ‘ब्लेड रनर’ प्रदर्शन गरेको थियो ।
फ्लाईङ कारको अवधारणामा ‘स्काइपोर्टस’को योजनासमेत जोडिएको छ । उबर कम्पनीसँंगै अन्य कम्पनीले पनि फ्लाईङ भेकल्सको अवधारणा अगाडि ल्याउन थालेका छन् ।