नेपाल आउने भयो ‘एफ-७७’ मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भारतीय स्टार्टअप कम्पनी अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरु हुने भएको छ । प्रिमियम मोटरसाइकल उत्पादन गर्ने अल्ट्राभोइलेटको एफ-७७ मोडल नेपालमा बिक्री सुरु हुन लागेको हो ।

केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको हो । यसअघि कम्पनीले एम्पीयर ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री सुरु गरेको थियो ।

कम्पनीले तिहार लगत्तै अल्टाभोइलेटका उत्पादन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी थालेको जानकारी दिएको छ । सुरुमा अल्ट्राभोइलेट ‘एफ-७७’ सार्वजनिक गर्नेछ ।

अल्ट्राभोइलेट एफ-७७ भारतमा विभिन्न तीन भेरियन्ट उपलब्ध छ । एफ-७७ लाइटिनिङ, एफ-७७ स्याडो र एफ-७७ लेजरगरी तीन भेरियन्टमा छनोट दिइएको छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने एकिन भएको पाइन्न ।

अल्ट्राभोइलेट एफ-७७ मोटरसाइकलमा निकै पावरफुल ३० किलोवाट पीक पावर भएको एयर कुल्ड मोटर छ । यसको टप स्पीड प्रतिघन्टा १४७ किलोमिटर रहेको कम्पनीको दावी छ । मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरी तीन राइडिङ मोड पाउन सकिन्छ ।

यसको टप भेरियन्टमा १०.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई सामान्य चार्जरबाट ४ घन्टामा र फास्ट चार्जरबाट एक घन्टा ५० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यसले एक पटकको फुलचार्जमा ३०७ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यो मोटरसाइकलको मूल्य १० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top