काठमाडौं । भारतीय स्टार्टअप कम्पनी अल्ट्राभाइलेटले प्रतिघन्टा २६५ किलोमिटरको टप स्पीडमा दौडन सक्ने इलेक्ट्रीक मोटरसाइकल ‘एफ ९९’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई लिक्वीड कुल्ड पावरट्रेनमा विकास गरेको हो ।
कम्पनीका अनुसार यो मोटरसाइकल ३ सेकेन्डमा ० देखि १०० को स्पीडमा पुग्न सक्छ । रेसिङ प्लेटफर्ममा तयार पारिएको ‘एफ ९९’को एरोडाइनामिकले यसको टप स्पीडमा ठूलो भूमिका खेलेको छ । कम्पनीले मोटरसाइलको एजहरुमा कार्वन फाइवर विंगलेटहरु दिएको छ । यसले मोटरसाइकललाई हावासँग ड्रयाग हुन कम गर्छ ।
अल्ट्राभाइलेट ‘एफ ९९’ मा ९० किलोवाट (१२० हर्सपावर) पीक पावर प्रदान गर्ने इलेक्ट्रीक मोटर दिइएको छ । यसको कुल तौल १७८ किलोग्राम छ ।
यसमा प्रयोग भएको ब्याट्री एयर कुलिङ रहेको छ । मोटर र कन्ट्रोलर लिक्वीड कुल्ड प्रदान गरिएको छ । कम्पनीले २०२५ को अन्तसम्ममा यसलाई बजारमा बिक्री सुरु गर्ने जनाएको छ ।

