सस्तो र सुरक्षीत ब्याट्री उत्पादन गर्दै हुन्डाई, गाडीको मूल्य घट्ने

काठमाडौं । न्यू इनर्जी भेहिकलको विकास तीव्र भएसँगै हुन्डाईले आफैं ब्याट्री उत्पादन गर्ने तयारी थालेको छ । यसअघि ब्याट्री र गाडी उत्पादन आफैं गर्दै बीवाइडीले सफलता चुमिरहेको समयमा हुन्डाईले पनि आफैं ब्याट्री बनाउने भएको हो ।

कोरियन पत्रिका ‘दी कोरियन हेराल्ड’का अनुसार हुन्डाई मोटर ग्रुपले आगामी वर्षको अन्त्यसम्ममा आफ्नै ब्राण्डमा ‘एलएफपी’ ब्याट्री बनाउने भएको हो ।

लिथियम आयोन फस्फेट ब्याट्री टेनोलोजी तुलनात्मक रूपमा सस्तो, सुरक्षीत र धेरै इफिसीयन्सी हुन्छ । अहिले विश्वमा ईभी उत्पादन गरिरहेका अधिकांस अटोमोबाइल कम्पनीले यही टेक्नलोजीको ब्याट्री प्रयोग गरिरहेका छन् ।

इलेक्ट्रीक मोटरमा प्रयोग हुने ब्याट्रीमा चीनको वर्चश्व रहेको छ । अहिले केही पश्चिमा देशहरू ब्याट्री विकासमा केन्द्रीत छन् । हालका वर्षहरूमा चीन र अमेरिका बीच ‘टेक ट्रेड वार’ चलिरहेको छ । यस बीच फोर्डले भने अमेरिकाको मिसिगनमा बनाउँदै गरेको एलएफपी ब्याट्री प्लान्टको काम रोकेको छ । फोर्डले विश्वकै ठूलो ब्याट्री उत्पादक चिनियाँ कम्पनी सीएटीएलसँग साझेदारीमा काम गरिरहेको थियो ।

विश्व नै ईभीको लगानी, विकास र प्रयोगमा दौड लगाइरहेको समयमा हुन्डाईले आफ्नै ब्राण्डमा एलएफपी ब्याट्री बनाउने भएको हो । अबको दुई वर्षमा सकिने उक्त प्लान्टबाट उत्पादित ब्याट्री हुन्डाई र किया ब्राण्डका इन्ट्री लेभल र मिड साइज कारमा सन् २०२५ बाट प्रयोगमा आउने छ ।

हुन्डाईको आफ्नै ब्याट्री भएपछि हुन्डाई र कियाका ईभीहरूको मूल्यमा समेत घट्ने बताइन्छ । गत जुनमा हुन्डाई मोटर्स ग्रुपले ईभी ब्याट्री विकासमा ७ बिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो ।


Back_to_top