काठमाडौं । चाडपर्व सकिएसँगै अब हरेक गाडी बिक्रेता कम्पनीले नयाँ रणनीति तयार गर्दै आ–आफ्नो माउ कम्पनीले उत्पादन गरेका मोडल नेपाली बजारमा ल्याउने भएका छन् ।
अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै कम्पनीहरुले नयाँ मोडल ल्याउने छन् । जसमा रेनो, टाटा, हुन्डाई र किया ब्राण्डका ४ नयाँ मोडल जनवरी २०२० मा नेपाली बजार प्रबेश गर्ने छन् ।
रेनोले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको ट्राइबरलाई नेपाली बजारमा उतार्नेछ भने टाटाले आफ्नो पहिलो इलेक्ट्रीक कारको रुपमा टिगोर इभीको बिक्री सुरु गर्ने छ ।
त्यसैगरी हुन्डाईले आफ्नो चर्चित ह्याचव्याक ग्रान्ड आई १० को नियोस मोडल नेपाली बजारमा उतार्ने छ भने भारत मेड कियाको पहिलो एसयूभी सेल्टोस नेपाल ल्याउने छ । कम्पनीले सेल्टोस एसयूभीको बुकिङ्ग नाडा अटो शो २०१९ बाटै लिन सुरु गरेको थियो ।
ट्राइबर
फ्रान्सेली अटोमोबाइल्स कम्पनी रेनोको ट्राइबर नाडा अटो शोमा प्रदर्शनी भएको थियो । रेनोको आधिकारीक वितरक एड्भान्स अटो मोवाइलले ट्राइबर नेपाली बजारमा अबको केही समयपछि बिक्री सुरु गर्ने जनाएको छ ।

नेपालमा पाँच सिटर अप्सनमा उपलब्ध हुने ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९० बीएच पावरका साथै ११० एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।
सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीड बेष्ड ट्राइबर कारको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । एड्भान्स अटोमोवाइल्सले यसको मूल्य निर्धारण गर्न बाँकी रहेको जनाएको छ । हाम्रो अनुमानमा यसको सुरुवाति मूल्य २६ लाख रुपैयाँ हाराहारी रहने छ ।
किया सेल्टोस
किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक इन्टर कन्टीनेन्टल ट्रेडिङले सेल्टोसलाई डिसेम्बर अन्त्यसम्मा नेपाली बजारमा ल्याउने जनाएको छ । कम्पनीले सेल्टोसको बुकिंङ नाडा अटो शो २०१९ बाटै सुरु गरेको हो ।
भारतमा निर्माण भएको किया सेल्टोसको सुरुवाति मूल्य ४३ लाख ९० हजार निर्धारण गरेर बुकिङ लिइएको कम्पनीले जनाएको छ । कियाको नयाँ एसयूभी सेल्टोसले टाटा एच५, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन लगाइएको एसयूभी हो ।
सेल्टोसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोड जस्ता विशेषता रहेका छन् ।
यस एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुने छ ।
टिगोर इभी
टाटा मोटर्सको पहिलो इलेक्ट्रीक कार नेपाल आउने भएको छ । नेपाली बजारमा टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त इलेक्ट्रीक कार ’टिगोर इभी’ नेपाल ल्याउने भएको हो । कम्पनी स्रोतका अनुसार आगामी जनवरीबाट यसको नेपालमा बिक्री सुरु हुनेछ ।

कम्पनीले टिगोर इभीलाई भारतमा एक्सई प्लस, एक्सएम प्लस र एक्सटी प्लस गरी ३ भेरियन्टमा उपलब्ध गराएको छ । तर, नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने विषयमा केही खुलाइएको छैन । यसको भारतमा सुरुवाति मूल्य ९ लाख ४४ हजार रुपैयाँदेखि १३ लाख ९ हजार भारुसम्म तोकिएको छ ।
भारतीय बजारमा बिक्री हुने सुरुवाति मूल्यको कारको मूल्य २२ लाखदेखि टप स्पेकको नेपाली बजारमा ३० लाख रुपैयाँ हारहारीमा पर्ने अनुमान गरिएको छ ।
टिगोर इभीले एक पटकको फूल चार्जमा २ सय १३ किलोमिटरसम्म चल्न सक्छ । यसमा २१.५ केडब्लुएच ब्याट्री प्याक दिइएको छ । नयाँ कारमा ७२ भी–३ फेस एसी इन्डक्सन मोटर छ । जसले ४५०० आरपीएममा ३० केडब्लू पावर र २५०० आरपीएममा १०५ एनएम टर्क उत्पादन गर्छ । यो कारमा दुई ड्राइभिङ मोड रहेको छ ।
टिगोर इभीको ग्रिलमा दिइएको सिग्नेचर इभी डिकेलले कारलाई आकर्षक बनाएको छ भने रि–डिजाइन गरिएको अलोय ह्वील, सर्क फिन एन्टेना, एलइडी स्टप ल्याम्प र व्ल्याक ग्रे कलरको ड्यासबोर्डले कारलाई निकै उत्कृष्ट बनाइएको छ । कम्पनीले टिगोर इभी विभिन्न तीन कलर अप्सनमा बजारमा ल्याएको छ । जसमा ह्वाइट, व्ल्यू र सिल्भर रहेका छन् ।
ग्रान्ड आई १० नियोस
भारतमा गत अगस्ट २० तारिखमा सार्वजनिक भएको हुन्डाई ग्रान्ड आई १० नियोस आगामी जनवरी २०२० सम्ममा नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो आफ्नो चर्चित ह्याचव्याक कार ग्रान्ड आई १० को पछाडि नियोस थप गरेर ल्याएको उक्त कार नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले नेपाल ल्याउने छ ।

कम्पनीले ग्रान्ड आई–१० नियोसमा नयाँ प्रदुषण मापदण्ड अनुसारको १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएच पावर उत्पादन गर्छ भने ५ स्पीड म्यानुअलको साथै अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
साथै, कम्पनीले यसलाई १.२ लिटर सिआरडीआई डिजेल इन्जिनमा समेत ल्याएको भएपनि नेपालमा डिजेल भेरियन्ट आउने वा नआउने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।
यसमा दिइएको नयाँ इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वीलले गाडीलाई निकै प्रिमियम बनाएको छ । साथै, हुन्डाईको कनेक्टेड कार टेक्नोलोजी यसमा उपलब्ध रहेको छ । कारमा हुन्डाई भेन्यूको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट उपलब्ध रहेको छ ।
ग्रान्ड आई–१० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । यसमा रि–डिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जडान गरिएको छ ।
स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । यसमा मेसिन कट अलोय ह्वील लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता पाउन सकिन्छ ।


