काठमाडौं । नेपाली बजारमा छिट्टै तीन नयाँ ब्राण्डका सवारी साधन थपिने भएका छन् । चिनियाँ ब्राण्डहरु डोङफेङ फरथिङ, नियो र जेटोर ब्राण्डका सवारी साधन नेपाल आउन लागेका हुन् ।
नेपाल आउने क्रममा रहेको तीनवटै ब्राण्ड नेपालमा चल्तीका ब्यवसायीक घरानाले ल्याउन लागेको हो । चिनियाँ जेटोर ब्राण्डलाई सीजी मोटर्सले नेपाल ल्याउन लागेको छ । त्यस्तै डोङफेङ फरथिङ लक्ष्मी ग्रुप र नियो विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सले ल्याउने भएको हो ।
माथि उल्लेख भएका तीन ब्राण्ड मध्ये डोङफेङ फरथिङ सबैभन्दा पहिला नेपाल आउने छ । डोङफेङ फरथिङको फ्राइडे मोडल मार्च अन्तिमसम्ममा नेपाल आइसक्नेछ । यसको आधिकारीक बिक्री सुरु गर्ने विषयमा भने लक्ष्मी इमोविलिटीले कुनै जानकारी दिएको छैन ।
नियो ब्राण्डका विद्युतीय साधन सन् २०२५ को अन्तिम क्वाटरसम्ममा नेपाल आउने छ । कम्पनीले नियो, फायर फ्लाई र अनभो ब्राण्डमा कारहरु उत्पादन गर्दै आएको छ । पारामाउन्ट मोटर्सको लक्ष्य फायर फ्लाई र अनभो ब्राण्ड नेपाल ल्याएर बिक्री गर्ने रहेको छ । कम्पनीले नियो ब्राण्ड ल्याउने भएसँगै स्वापिङ स्टेशनहरु पनि बनाउने अनुमान गरिएको छ ।
जेटोर ब्राण्डमा उत्पादन भएका लाइफ स्टाइल प्रोडक्ट नेपाल ल्याउने योजनामा कम्पनी रहेको छ । सीजीले इलेक्ट्रीक र हाइब्रिड मोडलका एसयूभी नेपाल ल्याउने अनुमान गरिएको छ । आगामी अटो शो २०२५ मा जेटोरका उत्पादन नेपाल आइपुग्ने अनुमान गरिएको छ ।
आयातकर्ता कम्पनी, अन्तर्राष्ट्रिय बजारमा प्रभाव जस्ता कारण नेपाल आउने तीनवटै ब्राण्ड बलिया मान्न सकिन्छ । तर, विद्युतीय सवारी साधनको मामलामा सरकारको गोलमोटोल नीतिले यी ब्राण्डहरुको भविष्य कस्तो हुन्छ अहिल्यै एकिन साथ भन्न सकिदैन ।