काठमाडौं । ‘सवारी तथा यातायातको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, २०८१’को प्रस्तावित मस्यौदामा सहरी क्षेत्रमा अधिकतम गति ५० किलोमिटर प्रतिघन्टासम्म कायम गर्न प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधेयकको सडक यातायात सुरक्षा सम्बन्धी शिर्षकको दफा ३७ मा सवारीको गति निर्धारण सम्बन्धी ब्यवस्था गरिएको छ । उपदफा १ मा लेखिएको छ, ‘सडक यातायात सम्बन्धी निकायको परामासमा सडकको अवस्था सवारीको वर्ग र स्तर समेतको आधारमा सवारीको गति निर्धारण गर्नुपर्नेछ’, भनि लेखिएको छ ।
राष्ट्रिय लोकमार्ग र अन्तर प्रदेश लोकमार्गको हकमा विभागले र अन्य मार्गको हकमा प्रदेश कानुन वा अन्य प्रचलित कानुनले तोकेको निकायले गति निर्धारण गर्नेछ ।
तर, मिश्रित ट्राफिक भएको क्षेत्र अन्तर्गत वस्ती रहेका सबै प्रकारका सडकमा सवारीको गति पचास किलोमिटर प्रतिघन्टा भन्दा बढी हुनेगरी निर्धारण गर्न सकिने छैन ।
तर, सरकारले तोकेका एम्बुलेन्स, दमकल जस्ता प्राथमिकता प्राप्त र बत्ति जडित साधनको हकमा भने गति सिमा लागु हुनेछैन ।