सुजुकी, हुन्डाई र टाटाले ल्याउँदै ‘ब्राण्ड न्यू एसयूभी’

काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा आयोजना हुनु पर्ने इन्डियन अटो एक्स्पो कोभिड १९ संक्रमणको कारण हुन सकेन । तर, आयोजकले उक्त संस्करणलाई अटो एक्स्पो २०२३ भनेर आगामी जनवरी १३ देखि १८ तारिखसम्म आयोजना गर्दैछ ।

अटो एक्स्पोलाई भारतको सबैभन्दा ठूलो गाडी तथा मोटरसाइकलको शो मानिन्छ । आगामी अटो एक्स्पोमा सबैभन्दा धेरै मोडल सार्वजनिक गर्ने तयारीमा जुटेको टाटा, हुन्डाई र मारुती सुजुकीले नयाँ एसयूभी मोडल प्रदर्शनी गर्ने तयारी थालेका छन् ।

अटो एक्स्पो २०२३ मा मारुती सुजुकीले बलेनो ह्याचव्याकमा आधारित क्रसओभर मोडल देखाउने छ । त्यसैगरी हुन्डाईले आफ्नो एसयूभी लाइनअप कै सबैभन्दा सानो माइक्रो एसयूभी प्रदर्शनी गर्ने अपेक्षा गरिएको छ । निकै आक्रमक बजार विस्तारमा जुटेको टाटाले कम्प्याक्ट एसयूभी सार्वजनिक गर्नेछ ।

यी तीन वटै ब्राण्डले ल्याउने नयाँ मोडलहरु आ–आफ्नो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट मोडल हुने अनुमान गरिएको छ । साथै, यी सबै मोडलको निकट भविष्यमा नै इलेक्ट्रीक अप्सन पनि सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।

मारुती सुजुकी ‘वाइटीबी’

मारुती सुजुकीले आफ्नो चर्चित प्रिमियम ह्याचव्याक मोडल बलेनोलाई ‘वाइटीबी’ नाम दिएर क्रसओभर मोडल विकास गरिरहेको छ । यसअघि धेरै पटक सडक परिक्षणमा देखिएको वाइटीबी मोडल आगामी अटो एक्स्पो २०२३ मा सार्वजनिक हुनेछ ।

मारुती सुजुकीले यसलाई १.० लिटर थ्री सिलिण्डर टर्बो चार्ज्ड पेट्रोल इन्जिनमा ल्याउने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम १०० पीएस पावर प्रदान गर्नेछ ।

कम्पनीले आफ्नो नयाँ क्रसओभरलाई फिचर लोडेड बनाएर ल्याउने अनुमान गरिएको छ । कम्पनीले यसमा ९ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हेडअप डिस्प्ले, ३६० डिग्री क्यामेरा, ६ वटासम्म एयरब्याग जस्ता फिचर दिनेछ ।

हुन्डाई माइक्रो एस्यूभी

हुन्डाईले सन् २०२२ मा नै भारतमा ल्याउने अनुमान गरिएको माइक्रो एसयूभी अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले कोरियन मार्केटमा विक्री सुरु गरेको क्यास्परबाट प्रेरित रहने माइक्रो एसयूभी भेन्यूभन्दा सानो हुनेछ ।

भारतमा टाटा पन्चसँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको पन्च ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा बन्ने छ । कम्पनीले यसमा ग्रान्ड आई १० नियोसमा नै उपलब्ध १.२ लिटर क्षमताको इन्जिन प्रदान गर्ने अनुमान गरिएको छ ।

टाटा ब्ल्याकबड

टाटा मोटर्सले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याउने नयाँ कुप्पे डिजाइन एसयूभी पनि अटो एक्स्पोमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । टाटाले ब्ल्याकबडको कन्सेप्ट यसअघि नै देखाई सकेको छ ।

विशेषगरी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा क्रेटा, सेल्टोस, कुशक, टाइगुन, किक्स, अर्वान क्रुजर हाइराइडर, ग्राण्ड भिटारा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न ब्ल्याकबड आउने छ ।

टाटाले ब्ल्याकबडलाई १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याउने अपेक्षा गरिएको छ । कम्पनीले यसको इलेक्ट्रीक भर्सन पनि ल्याउने छ ।


Back_to_top