काठमाडौं । नेपाली बजारमा दुई इलेक्ट्रीक एसयूभीको प्रबेशसँग रोचक प्रतिस्पर्धा सुरु हुने भएको छ । यी दुबै एसयूभीको निर्माता विश्व बजारमा परिचित ब्राण्ड हुन् ।
जिलीको ठूलो लगानी रहेको प्रोटोन ब्राण्डमा नेपाल प्रबेश गरेको इमास-७ र हुन्डाई क्रेटा इलेक्ट्रीकको प्रबेशसँगै बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा गज्जबको टक्कर देखिने भएको हो ।
अहिले यी दुई एसयूभी रहेको सेग्मेन्टमा बीवाइडी एटो-थ्री र ओमोडा ई-५ जस्ता मोडल उपलब्ध छन् । अझ नेटा एक्स र महिन्द्रा एक्सयूभी ४०० पनि यही सेग्मेन्टमा उपलब्ध मोडल हुन् । यी सबै मोडल बीचको प्रतिस्पर्धामा थपिएका दुई एसयूभीले बजारमा कस्तो प्रभाव पार्लान्, त्यो थाहापाउन भने अझै केही महिना कुर्नु पर्ने हुन्छ ।
जिलीले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको ग्यालेक्सी-५ मोडललाई नै प्रोटोनको ब्याचिङमा ल्याएको इमास-७ फिचर लोडेड ब्याट्री हो । जगदम्बा मोटर्सले बिक्री गर्ने इमास-७ को मूल्य ५९ लाखदेखि ६९ लाखसम्म हुने प्रारम्भिक खुद्रा बिक्री मूल्य प्रकाशित गरेको छ ।
भन्सार प्रयोजनको लागि प्रकाशित गरेको मूल्यको तुलनामा बजारमा बिक्री मूल्य कम प्रकाशित गर्ने प्रचलन रहेको कारण अझै कम मूल्यमा आउन सक्नेछ ।

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने क्रेटा ईभी फेब्रुअरीमा बिक्री सुरु हुने बताइएको छ । कम्पनीले अहिलेसम्म क्रेटाको मूल्यका विषयमा कुनै जानकारी दिएको छैन ।
हुन्डाईको चर्चित ग्यासोलिन एसयूभी क्रेटालाई इलेक्ट्रीकमा ल्याएको कारण नेपालमा यसले राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ । कम्पनीले यसलाई सुरुमा ४२ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध गराउने जनाएको छ । ५१.४ किलोवाट आवरको ब्याट्रीमा भने केही समयपछि मात्रै उपलब्ध हुनेछ ।

प्रोटोन इमास-७ लाई कम्पनीले दुई ब्याट्री अप्सनमा उपलब्ध गराउने भएको हो । कम्पनीले ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा ल्याउने छ । यसको दुबै भेरियन्टमा मोटर भने समान १६० किलोवाटको रहेको छ ।
हुन्डाईले क्रेटा ईभीमा एनसीएम ब्याट्री दिएको छ । प्रोटोनले भने एलएफपी ब्याट्री प्रयोग गरेर ल्याएको हो ।
दुबै ब्राण्डले आफ्ना नयाँ एसयूभीमा फिचरको लामो लिस्ट दिएका छन् । जुन अहिले बजारमा रहेका कुनै पनि एसयूभीभन्दा कमजोर छैनन् । हुन्डाई क्रेटा ईभी पेट्रोलियम पदार्थबाट चल्ने मोडलकै समान प्लेटफर्ममा बनेको हो । तर, प्रोटोन इमास-७ प्योर इलेक्ट्रीक प्लेटफर्ममा तयार भएको हो ।
यी दुई मोडलले बजारमा प्राइस वार पनि सुरु गराउने अनुमान गरिएको छ । जेहोस् यी दुई मोडल आएपछि बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा छनोट थपिनेछन् । तपाईले पनि गाडी किन्दै हुनुहुन्छ भने, दुबैलाई टेस्ट ड्राइभ गरेर आफ्नो उपयुक्त मोडल छनोट गर्न सक्नुहुन्छ ।


