बजारमा आयो नयाँ केटीएम २०० ड्युक, थपिए यी फिचर

काठमाडौं । केटीएमले आफ्नो लोकप्रिय ड्युक सिरिजको २०० ड्युक मोटरसाइकलको अपडेट २०२६ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ भर्सन ड्युक २०० मा सानातिना केही अपडेट गरी बजारमा सार्वजनिक गरेको हो ।

केटीएम इन्डियाले नयाँ वर्ष लागेसँगै आफ्नो मोडलहरूलाई अपडेट गर्न थालेको हो । सोही क्रममा कम्पनीले अपडेट गरेको नयाँ ड्युक २०० को औपचारिक रूपमा भारतीय बजारमा बिक्री सुरु गरेको हो ।

कम्पनीले २०२६ भर्सन केटीएम २०० ड्युकको मूल्य १ लाख ९३ हजार ८५४ रुपैयाँ भारु (एक्स शोरूम) तोकेको छ ।

डिजाइनको हिसाबले नयाँ २०० ड्युक हालको मोडलसँग धेरै मिल्दोजुल्दो देखिन्छ । तर यसमा नयाँ कलर ग्राफिक्स र अन्य केही पार्टस परिवर्तन भएको छ । नयाँ कलर ग्राफिकले मोटरसाइकललाई फरक पहिचान दिएको छ ।

मोटरसाइकलमा एट्लान्टिक ब्लू नामक नयाँ कलर अप्सन थपिएको छ । यसमा ओरेन्ज र ब्लूको आकर्षक संयोजन पाइन्छ । त्यस्तै, यसको ट्याकंमा ड्युक ब्राण्डिङलाई सानो बनाएर २०० लाई बढी हाइलाइट दिइएको छ ।

ड्युकमा ५ इन्चको टीएफटी डिस्प्ले यथावत राखिएको छ । जसले नेभिगेसन र अन्य राइडरलाई आवश्यक पर्ने जानकारीहरू हेर्न सकिन्छ ।

ड्युकको कम्पोनेन्टतर्फ केही महत्वपूर्ण अपडेट गरिएको छ । अगाडिको ब्रेक ३०० एमएमबाट बढेर ३२० एमएममा अपग्रेड भएको छ । जसले ब्रेकिङ क्षमतालाई अझै सुधार गरेको छ ।

हलुका किसिमको ५ स्पोक अलोय ह्वील, कास्ट मेटल फुटपेग, नयाँ ग्रयाब रेल, यूएसबी टाइप सी पोर्ट थपिएको छ भने नयाँ ड्युक २०० मा ४३ एमएम यूएसडी फोर्क हटाएर ३७ एमएमको डब्लूपी एपेक्स यूएसडी फोर्क र पछाडिको टायर १५० बाट घटेर १४० सेक्सन भएको छ । यसमा एमआरएफ टायर छ ।

यसको इन्जिनमा केही परिवर्तन भएको छैन । यसमा १९९ सीसी, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एफआई, बीएस ६ इन्जिन छ । यसले अधिकतम २५ पीएस पावर र १९.५ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पीड गियरबक्स छ ।


Back_to_top