काठमाडौं । नेपालमा नयाँ विद्युतीय कारको बिक्री तिब्र गतिमा बढेको छ । इलेक्ट्रीक कारको बिक्री वृद्धि भएसँगै दोस्रो बजारमा पनि कारहरु आउन थालेका छन् ।
ईभीको मूल्याङ्कन गर्ने सर्वमान्य प्रविधि नहुँदा खरिदकर्ता र बिक्रेता बीच डिल हुन सकेको छैन । ईभीको मूख्य कम्पोनेन्टहरु हाइभोल्टेज व्याट्री र इलेक्ट्रीक मोटरको बाँकी लाइफ निर्धारण नहुँदा सेकेन्ड ह्याण्ड ईभीको मूल्याङ्कन गर्न कठिन भएको हो ।
यहि अवस्था विश्वकै सबैभन्दा ठूलो कार मार्केट अमेरिकामा पनि देखिएको छ । हालसालै आइसीकार्सले गरेको एक रिसर्च अनुसार अमेरिकी बजारमा सेकेन्ड ह्याण्ड ईभीको मूल्य एक वर्षमा नै अत्याधिक घटेको देखाएको छ ।
आइसीकार्सले २३ लाख यूनिट १ देखि ५ बर्ष प्रयोग भएका कारको डाटाबेसमा रिसर्च गर्दा ग्यासोलीन र हाइब्रिडको भन्दा ईभीको सेकेन्ड ह्याण्ड मार्केट रेटमा अत्याधिक गिरावट आएको दावी गरेको छ ।
उक्त रिसर्च अनुसार सन् २०२२ को अक्टुबरभन्दा २०२३ को अक्टुबरमा ईभीको मूल्य ३३.७ प्रतिशतले घटेको छ । गत वर्षको अक्टुवरमा प्रयोग भइसकेका ईभीको मूल्य ५२ हजार ८२१ डलर थियो । यो वर्षको अक्टुवरमा घटेर ३४ हजार ९९४ डलरमा आएको हो ।
समग्र सेकेन्ड ह्याण्ड बजारको मूल्य भने अमेरिकामा ५.१ प्रतिशत घटेको छ । त्यसमा हाइब्रिड कारको मूल्य ९.६ प्रतिशतले मूल्य घटेको देखिन्छ । त्यस्तै बिक्रीका लागि राखिएको सेकेन्ड ह्याण्ड ईभी बिक्री अवधि पनि बढेको रिसर्चले देखाएको हो । गत वर्षको अक्टुवरमा एभरेज बिक्री समय ३७.५ दिन लागेकोमा यो अक्टुबरमा बढेर ५२.४ दिन लागेको छ ।
गतवर्षको तुलनामा ब्राण्ड न्यू ईभीको मूल्यमै गिरावट आएकोले पनि सेकेन्ड ह्याण्ड ईभीको मूल्य धेरैले घटेको हो । सबैभन्दा धेरै सकेन्डह्याण्ड बजारमा निसान लिफ, टेस्ला मोडल थ्री, सेभ्रोलेट बोल्ट, टेस्ला मोडल एक्स र मोडल एसको मूल्य घटेको रिपोर्टमा उल्लेख छ ।
इलेक्ट्रीक भेहिकलको निर्माण तथा प्लेटफर्म विकासमा नयाँ नयाँ प्रविधि भित्रनुु र कम्पनीहरुले पछिल्लो समय हाइडेन्सीटी ब्याट्री प्याक प्रयोग गरेर उत्पादन बढाएकाले मूल्य घटाउन सफल भएका हुन् ।


