महानगरको पार्किङमा २ घण्टासम्म शुल्क नलाग्ने, त्यसपछि कति लाग्छ ?

सांकेतिक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफैंले संचालन गरेको पार्किङ स्थलमा २ घण्टासम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐन २०८२ मा यस्तो छुट सुविधा दिएको हो ।

महानगर आर्थिक ऐन अनुसार महानगर आफैंले संचालन गरेको पार्किङ स्थलमा सवारी साधन पार्किङ गर्दा पहिलो २ घण्टासम्म कु्नै शुल्क लाग्ने छैन ।

तर, २ घण्टा बढी पार्किङ गरेको खण्डमा सुरूको समयदेखि देखि नै दुईपाँग्रेका लागि प्रति ३० मिनेटको १५ रुपैयाँ र चारपाँग्रेको लागि प्रति ३० मिनेट २५ रुपैयाँ पार्किङ शुल्क लाग्ने छ ।

अर्थात् महानगरद्धारा संचालित पार्किङ क्षेत्रमा २ घण्टाभन्दा १ मिनेट पनि बढी पार्किङ गरेमा सुरू देखिकै प्रति ३० मिनेट १५ रुपैयाँ दरले ७५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, चारपाँग्रेले १२५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ ।

अपाङ्गता भएका व्यक्तिको लागि भने पार्किङ शुल्क नलाग्ने महानगरले जनाएको छ । महानगरले न्युरोड, पुरानो बसपार्क लगायत स्थानमा आफैंले पार्किङ स्थल संचालन गरेको छ ।

त्यस्तै, अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्यव र सहकार्यमा संचालन भइरहेको पार्किङ स्थलमा भने सम्झौतामा उल्लेख गरे अनुसार नै पार्किङ शुल्क लाग्ने उल्लेख छ ।

निजी क्षेत्रले संचालन गरेका अधिकांश पार्किङ स्थलमा दुईपाँग्रेको न्यूनतम शुल्क २० रुपैयाँ बढी छ भने घण्टाको ४० रुपैयाँसम्म छ ।


Back_to_top