४५० एमटीलाई टक्कर दिने नयाँ मोटरसाइकल तयार

काठमाडौं । इटालियन ब्राण्ड मोटो मोरिनीले ४५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल देखाएको छ । कम्पनीले सीएफमोटो ४५० एमटीलाई टक्कर दिनेगरी नयाँ एड्भेन्चर मोटरसाइकल ल्याएको हो ।

युरोपियन बजारलाई लक्षित गरेर ल्याइएको ‘अल थ्राइक ४५०’ को बिक्री भने आगामी सेप्टेम्वर महिनाबाट सुरू हुने बताइएको छ ।

मोटो मोरिनी १९३७ देखि इटालीमा ‘विग बाइक’ उत्पादन गर्दै आएको कम्पनी हो । सन् २०१८ मा चिनियाँ कम्पनीले यसको स्वामित्व खरिद गरेसँगै ‘मिड साइज’ सेग्मेन्टमा मोटरसाइकल उत्पादन थालेको हो ।

नेपाल, भारत जस्ता बजारका लागि समेत उपयुतm हुने डिजाइन तयार भएको अल थ्राइक ४५० एड्भेन्चरमा ४५० सीसी ट्वीन सिलिन्डर इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ४४.२ हर्षपावर तथा ४२ एनएम टर्क जेनेरेट गर्छ ।

स्टील ट्रेल फ्रेममा तयार पारिएको अल थ्राइक मोटरसाइकलको फ्रन्टमा २१ र रियरमा १८ इन्चको रियर स्पोक ह्वील दिइएको छ । यसको फ्रन्टमा कबायाको २०८ एमएम ट्राभल सस्पेन्स र रियरमा १९० एमएम मोनोशक सस्पेन्स उपलब्ध छ ।

डबल च्यानल एबीएस सहित आउने यो मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २१५ एमएम हुने कम्पनीले जनाएको छ । यसको फ्रन्टमा एड्जष्टेवल विन्ड स्क्रीन, नेभिगेशन फिचर, हिटेड ग्रिप, युएसबी पोर्ट जस्ता फिचर छन् ।

नेपालमा अहिलेसम्म यो मोटरसाइकलको ब्रान्ड आएको छैन । यदि, यसको अपस्थिति नेपालमा हुने हो भने सीएफमोटो ४५० एमटीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्राण्डका दुई पाँग्रे साधनको उपस्थिति बलियो हुँदै गएको छ । संख्यात्मक बिक्री नभएपनि सीएफ मोटो, जोङसेन, जोन्टेस, टारो, क्रसफायर, मोटरहेड जस्ता चिनियाँ ब्रान्ड नेपालमा छन् ।


Back_to_top