नेपालमा एसेम्बल भएका सवारी विदेशमा लगेर जाँच गर्न पाइने

काठमाडौं । नेपालमा एसेम्बल (जडान) भएका सवारी साधन अब विदेशमा लगेर पनि परीक्षण गर्न पाइने भएको भएको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

नेपालमा एसेम्बल गरिएका सवारी साधनको विदेशी प्रयोगशालामा प्राविधिक परीक्षण गर्न चाहेमा उत्पादक आफैंले खर्च व्यहोर्ने गरी लैजान पाउने व्यवस्था गरिएको हो ।

‘कुनै सवारी जडानकर्ताले आफूले जडान गरेको सवारीको अनुपालन प्रमाणपत्रको लागि दफा ११ बमोजिम गरिने प्राविधिक परीक्षणको अतिरिक्त आफैले खर्च व्यहोर्ने गरी विदेशस्थित सक्षम प्रयोगशाला वा संस्था बाट परीक्षण गराउन चाहेमा विभागको स्वीकृति लिई परीक्षण आवृति तथा संख्या सम्बन्धमा अनुसूची ६ मा रहेको व्यवस्था अनुसार हुने गरी विदेशमा सवारी परीक्षण गराउन सक्नेछ,’ प्रस्तावित मस्यौदामा भनिएको छ ।

बमोजिमको परीक्षण प्रयोजनका लागि स्वीकृति लिन सम्बन्धित सवारी जडानकर्ताले विदेश स्थित सक्षम प्रयोगशाला वा संस्थाको पूरा नाम, ठेगाना, सम्पर्क फोन नम्बर, इमेल तथा मूख्य सम्पर्क व्यक्तिको नाम, ओहदा तथा सम्पर्क विवरण, प्रयोगशाला वा संस्था सम्बन्धित देशमा सवारीको परीक्षण (प्रकार अनुमोदन वा उत्पादनको तादात्म्यता) सम्बन्धी कार्य गर्न सक्षम रहेको प्रमाणित हुने कागजात, प्रयोगशाला वा संस्थामा रहेका परीक्षण सम्बन्धी उपकरण तथा जनशक्ति सम्बन्धी विवरण पेश गर्नुपर्नेछ ।

त्यस्तै, प्रयोगशाला वा संस्थाले पछिल्लो एक वर्षमा प्रकार अनुमोदन वा उत्पादनको तादात्म्यता प्रमाणपत्र दिएका सवारीका मोडेलहरुको सूची, सवारीको परीक्षणका लागि प्रयोशाला वा संस्थाले लिने शुल्क सम्बन्धी कोटेशन पेश गर्नुपर्नेछ । प्राप्त निवेदन उपर जाँचबुझ गर्दा विदेशस्थित प्रयोगशाला वा संस्था सवारी परीक्षण गर्न सक्षम देखिएमा विभागले सवारी जडानकर्तालाई त्यस्तो प्रयोगशाला वा संस्थामा लगी जडित सवारीको परीक्षण गराउन स्वीकृति दिनेछ ।

विभागको स्वीकृति लिई विदेशमा हुने प्राविधिक परीक्षणको प्रतिवेदन सम्बन्धित सक्षम प्रयोगशाला वा संस्थाबाट विद्युतीय (आधिकारिक इमेल मार्फत) र भौतिक रूपमा सिधै विभागमा पठाउनु पर्नेछ ।

विभागले प्रस्तावित निर्देशिकामा गरिएको व्यवस्था माथि छलफल गरी अन्तिम टुंगो लगाउने छ । यद्यपि, छलफलको क्रममा संशोधन समेत हुन सक्नेछ ।


Back_to_top