काठमाडौं । यदि तपाईं सडकमा सवारी साधन चलाइरहनु हुन्छ भने अरुले जथाभावी ओभरटेक गर्दा कहिलेकाहीँ तर्सिनुभएको अनुभव पक्कै होला ।
जथाभावी ओभरटेक गरेर तर्साउने मोटरसाइकल चालक अग्रपंक्तिमा देखिन्छन् । कार, ट्रिपर, माइक्रोबस लगायतका चालक पनि कम छैनन् । सडक अनुशासन पालना गर्दैनन् । अलिकति खाली बाटो देख्नै हुँदैन, सवारी छिराइहाल्ने प्रवृत्ति छ । जसले गर्दा सवारी दुर्घटना भएका कयौं उदाहरण छन् ।
अझ हाइवेमा अगाडिको गाडीलाई ओभरटेक गर्नुपर्दा विशेष सावधानी अपनाउनु पर्छ । हाइवेमा गाडीको स्पीड धेरै हुन्छ । सडक अनुशासन पालना नगरेमा ठूलो दुर्घटना भई चालकको मृत्यु समेत हुन सक्छ ।
नेपाली सडकमा आफू अगाडिको सवारी साधनलाई ओभरटेक गर्नको लागि विशेष नियम रहेको छ । तर, धेरै जसो माटरसाइकल चालकले सो नियम पालन गरेको देखिँदैन । अझ पछिल्लो समय धेरै सीसीका मोटरसाइकल चढ्ने युवापुस्ताले स्टन्ट गर्दै चलाउने गरेको देखिन्छ । धेरै सीसीका मोटरसाइकलहरूको पावर र टर्क धेरै हुने भएकोले छिटो स्पीड गुड्छ भन्ने चालकलाई कन्फिडेन्स रहेको देखिन्छ । जसकारण साना बाटो पाउने बित्तिकै आफ्नो र अर्काको साइड नहेरी ओभरटेक गर्न तम्सिहाल्छन् ।
ओभरटेक गर्ने साइड दाँया कि बाँया
नेपाली सडकमा सवारी साधन सडकको बाँयातर्फ (लेफ्टह्याण्ड)बाट चलाउने नियम छ । गाडी सडकको बाँया साइडबाट चलाउने भएकाले अगाडिको गाडीलाई सधैं गाडीको दाँया (राइटह्याण्ड) साइडबाट ओभरटेक गर्नुपर्छ ।
राइटह्याण्ड साइडबाट ओभरटेक गर्न सुरक्षित हुने अर्को कारण हो सवारीमा चालकको सिटिङ पोजिसन राइट साइडमा हुनु । जसका कारण चालकले आफ्नो दाँयातर्फको रियर भ्यू मिरर नजिक पर्छ र उक्त दिशाबाट आउने सवारी साधन स्पष्ट देख्न सक्छ । त्यसकारण अगाडिको सवारी साधनलाई ओभरटेक गर्दा सधैं राइट साइडबाट मात्र ओभरटेक गर्नपर्छ ।
तर, ओभरटेक गर्नु अघि अगाडि गुडिरहेको सवारी साधनलाई हाइबिम दिएर वा हर्न बजाएर ओभरटेक अनुमति माग्नु पर्छ । साथै घुमाउरो बाटाहरूमा कहिले पनि ओभरटेक गर्ने प्रयास गर्नु हुँदैन । जथाभावी ओभर टेक गरेर आफ्नो ज्यान जोखिममा पर्ने मुर्खता गर्नुहुँदैन । अगाडिको गाडीले साइड लाइट बालेपछि र आफूले अगाडि परसम्मको सडकमा कुनै अवरोध नदेखेमा मात्र ओभरटेक गर्नुपर्छ ।