भिनफास्टको पहिलो भारतीय मोडल ‘भिएफ-थ्री’, नेपाल पनि आउने

काठमाडौं । भिनफास्टले भारतमा आफ्नो पहिलो उत्पादन माइक्रो एसयूभीबाट सुरु गर्ने लगभग पक्का देखिएको छ । कम्पनीले आफ्नो लाइनअप कै सबैभन्दा सानो ‘भिएफ-थ्री’को प्याटेन्ट भारतमा दर्ता गराएको हो ।

भियतनामी अटो निर्माताले अमेरिका, इन्डोनेशिया र भारतमा आफ्नो उत्पादन प्लान्ट लगाउने कामलाई तिब्रता दिएको छ । कम्पनीले दुई दिन अघि भारतमा प्लान्ट निर्माणको काम सुरु गरेको थियो ।

सन् २०२५ को सुरुवातबाट भारतमा उत्पादन थाल्ने योजना बनाएको भिनफास्टले प्याटेन्ट दर्ता गराएको ‘भिएफ-थ्री’ निकै स्टाइलिस डिजाइन बनेको माइक्रो एसयूभी हो । कम्पनीले यसलाई सन् २०२३ मा भियतनाममा प्रदर्शनी गरेको थियो ।

दर्ता भएको प्याटेन्ट इमेज अनुसार भिएफ-थ्रीमा केबल दुई ढोका मात्रै रहने छ । यसको लम्बाई ३१९० एमएम र चौडाई १६७९ एमएम छ । उचाई भने १६२० एमएम पाउन सकिन्छ ।

यसको बडी निकै कप्याक्ट छ, १६ इन्चको ह्वीलसहित अग्लो साइजमा उपलब्ध ईभीमा ग्राउन्ड क्लियरेन्स लगभग २०० एमएम रहने छ । बक्सी डिजाइनमा आधारित मिनी एसयूभीको इलेक्ट्रीक मोटर पावर र ब्याट्री साइजको विषय सार्वजनिक नभएपनि यसको रेन्ज २१० किलोमिटर माथि रहने बताइएको छ ।

सन् २०२४ को तेस्रो क्वाटरबाट मात्रै बिक्री सुरु हुने अनुमान गरिएको भिएफ-थ्रीलाई कम्पनीले २०२४ कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोबाट बिक्री सुरु गर्ने जनाएको छ ।

नेपाल पनि आउने

भिनफास्टका उत्पादन विशाल ग्रुप अन्तर्गतको कम्पनीले नेपाल ल्याउँदैछ । यहि वर्षको नोभेम्बरसम्ममा भिनफास्टका उत्पादन नेपाल ल्याउने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ ।

सम्भवत भिनफास्टले भारत र नेपालमा एउटै मोडलहरु बिक्री गर्नेछ । त्यसैले भिएफ-थ्री माइक्रो एसयूभी नेपाल आउने पक्का छ ।


Back_to_top