काठमाडौं । भदौ १४ र १५ मा हुने विमिस्टेक सम्मेलनमा भागलिन आउने पाहुनाको आवत जावतमा सहजताकोलागि भीआइपी रुटको ब्यवस्था गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष छिरिङ तोग्वे आउने तय भएको छ ।
भीआइपीको यात्राको लागि विमानस्थलदेखि तिलगंगा, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटललाई मुख्य सवारी रुट बनाइएको छ ।
विमानस्थलमा फरक–फरक समयमा राष्ट्रप्रमुखहरु ओर्लने भएपछि सडकमा सुरक्षा व्यवस्था चुस्त पार्ने सरकारको रणनीति अनुरुप वैकल्पिक रुटको रुपमा विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, रविभवन र सोल्टी होटलसम्म तय गरिएको छ ।
बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई यी दुईमध्ये एउटा रुट प्रयोग गरी सम्मेलनस्थल सोल्टी होटल पुर्याइनेछ । दुवै रुटमा ५० मिटरको दूरीमा प्रहरी निरीक्षकको कमान्डमा पाँचदेखि १० जना सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।

