काठमाडौं । फक्सवागन पोलो र भेन्ट्रो नयाँ इन्जिनसहित नेपाली बजारमा बिक्री सुरु भएको छ । फक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनलले नयाँ इन्जिनसहितको पोलो र भेन्टो नेपाली बजारमा सार्वजनिक गरेको हो ।
दुबै मोडलमा समान १.० टर्बो टिएसआई इन्जिन रहेको छ । उक्त इन्जिनले ११० पीएस पावर र १७५ एनएम टर्क प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा रहेको इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ । नयाँ मोडल भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको हो ।
यसमा अगाडि नयाँ डिजाइनको हनिकर्ब ग्रिल दिइएको छ । गाडीको बडी प्यानलपनि पहिलेभन्दा थप स्पोर्टी देखिएको छ । फक्सवागनले टिएसआई व्याचलाई राम्रैसँग ढोका, ओराभीएम जस्ता स्थानमा ब्राण्डिङ गरेको देखिन्छ ।
उच्च क्षमताको बाबजुद नयाँ टिएसआई इन्जिनले पहिलेको तुलनामा बढी माइलेज प्रदान गर्ने छ । ‘फन टु ड्राइभ’ स्लोगनसहित आएको नयाँ इन्जिनले पोलोमा १८.२४ र भेन्टोमा १७.६९ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ ।
गाडी सार्वजनिक पछि नयाँ इन्जिनको विषयमा बोल्दै पुजा इन्टरनेशनलका मार्केटिङ म्यानेजर बिराज श्रेष्ठले भने, ‘नयाँ इन्जिनले पोलोलाई आफ्नो सेग्मेन्टकै सर्वाधिक पावरफुल इन्जिन बनाएको छ । १ हजार सीसी क्षमताको इन्जिन भएपनि यसले प्रदान गर्ने पावर १ हजार ६०० सीसी बराबर रहेको छ ।’
यस्तो छ मूल्य
फक्सवागन पोलो टिएसआईको सुरुवाती भेरियन्टको मूल्य ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो पोलोको कम्फर्टलाइन भेरियन्ट हो । त्यस्तै हाइलाइन प्लस भेरियन्टको मूल्य ३९ लाख ९० हजार, हाइलाइन प्लस टिएसआई भेरियन्टको ४० लाख ४० हजार, हाइलाइन प्लस टिएसआई अटोमेटिकको ४५ लाख ४० हजार र जिटी हाइलाइन प्लस टिएसआईको ४७ लाख ४० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरि कम्पनीले भेन्टो ट्रेन्डलाइन टिएसआई म्यानुयलको ३९ लाख ४० हजार, कम्र्फटलाइन म्यानुयल टिएसआईको ४२ लाख ४० हजार, हाइलाइन टिएसआई म्यानुयलको ४४ लाख ४० हजार, हाइलाइन प्लस म्यानुयलको ४९ लाख ४० हजार, हाइलाइन अटोमेटिकको ५० लाख ४० हजार र हाइलाइन प्लस अटोमेटिकको ५४ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

