प्लाण्ट पूर्ण क्षमतामा नचलेपछि कर्मचारी कटौती गर्दै फक्सवागेन इण्डिया

काठमाडौं । जर्मनी अटोमोबाइल कम्पनी फक्सवागेन ग्रुपले भारतमा संचालन भइरहेको प्लाण्टबाट २३०० कर्मचारी हटाउने भएको छ ।

कम्पनीले प्लाण्ट पूर्ण क्षमतामा संचालन हुन नसकेको कारण देखाउँदै २३०० श्रमिकहरूलाई स्वेच्छिक अवकासको विकल्प दिएको हो ।

कम्पनीले सिधै लेअफ नभनिकन स्वेच्छिक अवकासको योजना मार्फत कामदार कटौती गर्न लागेको हो । कम्पनीले स्वेच्छिक अवकासको योजना ट्रेड युनियनसँगको सहमतिमा ल्याएको जनाएको छ ।

कम्पनीले २३०० कर्मचारी हटाएपछि बाँकी कामदारहरूलाई राम्रो तलब दिन सकिने र प्लाण्ट कुनै समस्या बिना संचालन हुने बताएको छ ।

फक्सवागेन ग्रुपले भारतमा १.४ अर्ब डलरको इम्पोर्ट ट्याक्सको मुद्दा खेपिरहेको छ । कम्पनीले भारतीय बजारमा फक्सवागेन, स्कोडा, अउडी, पोर्श, लेम्बर्गीनी र बेन्ट्ले जस्ता प्रिमियम ब्राण्डका गाडीहरू बिक्री गरिरहेको छ । कम्पनीले आधादर्जन ब्राण्डको बिक्री गरे पनि बजार हिस्सा भने मात्र २ प्रतिशत रहेको छ ।

फक्सवागेनको पुने र महाराष्ट्रमा गरी दुईवटा प्लाण्ट संचालनमा रहेको छ । स्वेच्छिक अवकासको स्कीम ल्याएको महाराष्ट्रकाे प्लाण्टबाट स्कोडा कुशाक एसयूभी, फक्सवागेन भर्टुस सेडान, आउडी क्यू ३, अउडी क्यू ५ जस्ता मोडलहरूको उत्पादन भइहरेको छ । यी मोडलहरू मेक्सिको, दक्षिण अफ्रिसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको छ ।

स्कोडा अटो फक्सवागेन सन् २०१८ बाट नै स्थानीय साझेदारको खोजीमा छ । पछिल्लो समय फक्सवागेनले जेएसडब्लू एमजीसँग ज्वाइन्ट भेन्चर पार्टनरशिपको वार्ता गरिरहेको समाचारहरू बाहिर आएको थियो ।


Back_to_top