पोखरामा हुने ‘वाडा अटो शो’को तयारी तिब्र, स्टल सोल्ड आउट

पोखरा । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजनामा पोखरामा हुने ‘वाडा अटो शो २०२५’को सबै स्टल बुकिङ भएका छन् ।

अटो शोका संयोजक तथा वाडाका उपाध्यक्ष निरन केसीका अनुसार अटो शोमा राखिने सबै स्टलहरु मंगलबारसम्म बुकिङ भइसकेको छ । ‘स्टल बुकिङमा उत्साहजन सहभागिता देखिएको छ,’ उनले भने, ‘अब हामी अटो शो सफल बनाउन प्रचार प्रसार तथा अन्य तयारीमा जुटेका छौं ।’

आगामी चैत्र १४ देखि १७ गतेसम्म पोखराको अमरसिंहचोक स्थित खुल्ला चौरमा अटो शो हुने अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए । यस अगाडि हुने भनिएको स्थानलाई परिवर्तन गरी अमरसिंहचौरमा अटो सो गर्न लागिएको हो ।

पोखराको मुख्य सेन्टर पर्ने र पोखरा तथा लेखनाथ लगायत आसपासका जिल्लाबाट समेत भिजिटर आउन सजिलो हुने भएकाले स्थान परिवर्तन गरिएको आयोजकको भनाइ छ ।

अटो सोका लागि २-पाङग्रे, ३-पाङग्रे, ४-पाङग्रे, लाइट कमर्शियल, हेभी कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुले स्टल बुकिङ गरेका छन् । ‘हामीले अटो सोमा सबै प्रकारका सेगमेन्टलाई समेटेका छौं’, अध्यक्ष कोइरालाले भने ।

वाडा अटो शोका लागि टिकट बुकिङ पनि खुल्ला भइसकेको छ । खल्ती वालेटबाट टिकट बुकिङ गर्न सकिने उनले जानकारी दिए । टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ कायम गरिएको छ ।

आर्थिक चलायमान बनाउन र अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन अटो शोले सकारात्मक योगदान गर्ने आयोजकको विश्वास छ ।


Back_to_top