वर्कसप ब्यवस्थित गर्न जुटे व्यवसायी, निर्देशिका माथि छलफल

काठमाडौं । नेपाल अटो वर्कसप व्यवसायी संघले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेका छन् । 

उक्त अवसरमा विभिन्न क्षेत्रमा चार पांग्रे सवारीसाधनको वर्कसप सञ्चालन गरिरहेका वर्कसप व्यवसायी, नेपालमा एटीएस–एल्गीका वर्कसप इक्विपमेन्ट उपलब्ध गराउदै आएको हिट्को प्रालि र एटीएस–एल्गीका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

नेपाल वर्कसप व्यवसायी संघका अध्यक्ष शरणकुमार गुरुङले गत २०७४ चैत १६ मा जारी भएको वर्कसप सञ्चालन निर्देशिका र यसमा भएका विभिन्न प्रावधानहरुको वारेमा जानकारी गराएका थिए ।

त्यतिबेला ६ महिनाको समय दिएर सो निर्देशिका जारी भएको र निर्देशिका अनुसार वर्कसपहरुलाई व्यवस्थित गर्ने समय आएको जानकारी दिदै उनले यसका लागि गर्नु पर्ने आवश्यक कार्यका वारेमा जानकारी गराएका थिए ।

त्यसो हुन नसकेमा यो क्षेत्रमा कार्यरत हजारौ व्यवसायीहरुको करोडौं लगानी डुब्ने सम्भावना भएकोले बेलैमा सचेत भएर कार्य गर्न उनले आग्रह गरे ।

एटीएस–एल्गीका अन्तर्राष्ट्रिय म्यानेजर ऋतुमोहन शर्माले मापदण्ड अनुसारका वर्कसप सञ्चालन गर्नका लागि कम्पनीसँग विभिन्न इक्विपमेन्टहरु रहेको र हिट्को प्रालिले यस्ता इक्विपमेन्ट उपलब्ध गराउदै आएको बताए । एटीएस–एलगीले टु पोष्ट हाइड्रोलिक लिफ्ट, फोर पोष्ट लिफ्ट, ह्विल एलाइनमेन्ट सिजर लिफ्ट, ह्विल्स फ्रि सिजर लिफ्ट, अटो कार वासर, पेन्ट बुथ आदि इक्विपमेन्ट उपलब्ध गराउनुका साथै यसका लागि आवश्यक तालिम समेत प्रदान गर्दै आएको बताए ।

विश्वका ७० भन्दा बढी देशमा एटीएस–एल्गीका इक्विपमेन्ट प्रयोग भइरहेका र ८ हजार भन्दा बढी सन्तुष्ट ग्राहक रहेको उनले जानकारी दिए ।

हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधानले विगत ३४ बर्ष यता हिट्कोले एटीएस–एल्गीका ग्यारेज इक्विपमेन्ट उपलब्ध गराउदै आएको जानकारी दिदै ग्राहकको सन्तुष्टीका कारण नै नेपाली बजारमा करिब ८० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको दावी गरे ।

उनले ग्यारेजका लागि आवश्यक इक्विपमेन्ट उपलब्ध गराउनुका साथै सञ्चालन र मर्मतका लागि आवश्यक तालिम समेत प्रदान गरिने बताए । नाडा अटो शोकै सन्दर्भमा कम्पनीले पोर्टेबल अन्डर च्यासिस वासर, मोटरसाइकल लिफ्ट र पार्किङ लिफ्ट समेत पहिलो पटक नेपालमा भित्र्याएको उनले बताए ।

सरकारले गत चैत १६ गते जारी गरेका १० वटा निर्देशिका मध्ये चर्चामा रहेको यातायात क्षेत्रमा सिन्डिकेट खारेजीका साथै वर्कसप सञ्चालन सम्बन्धी निर्देशिका समेत थियो । यस अनुसार अब वर्कसपमा न्यूनतम प्राविधिक पूर्वाधार हुनुका साथै दक्ष कामदार र इक्विपमेन्ट समेत हुनु पर्नेछ । त्यसैगरी वर्कसप दर्ता गरेर मात्र सञ्चालन गर्न सकिने छ ।


Back_to_top