आउँदै विलिङको पहिलो क्रसओभर एसयूभी, विङ्गोको मूल्य घट्यो

काठमाडौं । चिनियाँ र अमेरिकी ब्राण्डको संयुक्त लगानीमा रहेको विलिङले मिनी कार र ह्याचव्याकपछि क्रसओभर एसयूभी मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले अबको केही महिना भित्रै नयाँ क्रसओभर मोडल बजारमा ल्याउन लागेको हो ।

विलिङले उत्पादन गरेको एयर मिनी ईभी अहिले नेपालमा बिक्री हुँदै आएको छ । नेपाल आउने विलिङका कार चीनमा उत्पादन नभएर इन्डोनेशियामा उत्पादन हुँदै आएका छन् ।

ईभी नेपाल मोटर्सले विङ्गो ईभी पनि नेपाल ल्याउने तयारी गरिरहेको छ । कम्पनी स्रोतका अनुसार चिनियाँ नयाँ वर्षको कारण मूल्य लगायतका केही विषय टुङ्गो लगाउन ढिला भएको थियो । अब चाँडै यी विषय टुङ्गो लागेपछि विङ्गो नेपाल ल्याउने प्रक्रिया सुरु हुन्छ ।

नेपाल नआउँदै चिनियाँ बजारमा भने विङ्गो मोडलको मूल्य कटौती भएको छ । कम्पनीले बीवाइडी सिगुलसँग सिधा प्रतिस्पर्धा गर्न मूल्य कटौती गरेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

चीनमा सार्वजनिक हुँदै क्रसओभर मोडल

विलिङको पहिलो क्रसओभर मोडलको नाम बाहिर आएको छैन । तर, चिनियाँ मिडियाले यसलाई विङ्गो प्लास नाम दिएर आउन सक्ने जनाएका छन् । साइजमा भने विङ्गो र नयाँ क्रसओभर मोडल बीच केबल १०० एमएमको मात्रै फरक पर्नेछ ।

नयाँ क्रसओभर मोडलको लम्बाइ ४०९० एमएम, चौडाई १७२० एमएम र उचाइ १५७५ एमएम रहेको छ । यसमा २६१० एमएम लामो ह्वीलवेस रहने छ ।

विलिङले अफ्ना उत्पादनमा साना इलेक्ट्रीक मोटर प्रयोग गर्दै आएको छ । नयाँ क्रसओभर मोडलमा पनि ७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । साथै, यसमा ब्याट्री भने ५० किलोवाट आवर क्षमताको हुनेछ । यसले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्नेछ ।


Back_to_top