विलिङको माइक्रो भ्यान नेपाल आउने निश्चित, ४ लाख किलोमिटर वारेन्टी

काठमाडौं । एकपछि अर्को कमर्शियल विद्युतीय गाडी आयात हुने क्रममा विलिङको भ्यान पनि नेपाल आउने भएको छ । विलिङको कमर्शियल भ्यानलाई शसिला मोटर्सले नेपाल ल्याउने भएको हो ।

शसिला मोटर्सको प्रबन्ध निर्देशक सन्तोष खतिवडा र विलिङ मोटर्स होल्डीङका अध्यक्ष पुवान जिजुनले सम्झौता पत्रमा हस्ताक्षर गरेर नेपालको आधिकारीक वितरक नियुक्त गरिएको हो ।

विलिङले नेपाल ल्याउने भ्यान ११ सिट क्षमताका हुन् । बजारमा अहिले सर्वाधिक चलेको यो सेग्मेन्टमा थुप्रै मोडल छन् । केवाइसी, एसआएएम, डिएफएसके जस्ता ब्राण्डका उत्पादनले सफलता पाएको कारण नयाँ मोडलहरु नेपाल आइरहेका छन् ।

विलिङको भ्यानमा ४१ किलोवाट आवरको ब्याट्री रहेको छ । ५० किलोवाटको मोटरमा आउने यी भ्यानमा ८ वर्ष वा ४ लाख किलोमिटरसम्म वारेन्टी रहने कम्पनीको भनाई छ ।

यसको मूल्यको विषयमा केही जानकारी बाहिर नआएपनि अहिले ४५ लाख रुपैयाँ आसपासमा ११ सिटर भ्यान उपलब्ध भएको कारण यसको मूल्यपनि त्यहि आसपास हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top