आफ्नो सबैभन्दा सस्तो एसयूभी ल्याउँदै एक्सपेङ

काठमाडौं । एक्सपेङले नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो प्रोडक्ट लाइनअप कै सबैभन्दा कम मूल्यको एसयूभी ल्याउने भएको हो ।

यसअघि पूर्ण रूपमा छोपेर परीक्षण भइरहेका तस्बिरहरू बाहिर आएको नयाँ एसयूभी ‘डी-०२’ उत्पादन कोण नेम राखेर विकास भइरहेको कम्पनीले जनाएको थियो ।

चिनियाँ स्टार्टअप कम्पनीले आफ्नो लाइनअप कै सबैभन्दा सस्तो एसयूभीको रूपमा ल्याउन लागेको एसयूभीको नाम के रहन्छ भन्ने एकिन जानकारी बाहिर आइसकेको छैन ।

एक्सपेङ जी सिक्स अहिले एसयूभी लाइनअपकै सबैभन्दा सानो मोडल थियो । अब जी सिक्सभन्दा सानो एसयूभी बजारमा ल्याउन लागेको हो । नेपाली बजारमा पनि एक्सपेङ जी सिक्स एसयूभी सीजी मोटर्सले बिक्री वितरण गर्दै आएको छ ।

अहिले नछोपिकन तस्बिर बाहिर आएको एक्सपेङको नयाँ एसयूभी सम्भवतः आगामी बेइजिङ अटो शोमा प्रदर्शनी हुनेछ । नयाँ एसयूभीमा अंग्रेजी अक्षर टी आकारमा हेडलाइट दिइएको छ । यसमा लाइडार देखिएको छैन । बरु एडासको नयाँ भर्सन रहने अनुमान छ ।

सेमी हिडन डोर ह्याण्डल, मोर्डन र स्लीक बडी डिजाइन, एसयूभीको बी पिलरबाट स्लोप डाउन हुँदै गएको देखिन्छ । जसले नयाँ एसयूभी कुपे डिजाइनमा आउने अनुमान गर्न सकिन्छ ।

अहिलेसम्म यसको इन्टेरियरको विषयमा कुनै खुलासा भएको छैन । सम्भवत निकै मोर्डन क्याबिन, आरामदायी सिट, ठूलो स्क्रीनको साथ आउने छ ।

एक्सपेङले नयाँ एसयूभीमा १६० किलोवाट क्षमताको सिंगल मोटर दिने अनुमान छ । यसमा रहने ब्याट्रीको साइजको विषयमा कुनै जानकारी बाहिर नआएपनि रेन्ज ६०० किलोमिटर हाराहारी रहनेछ ।

कम्पनीले यसको मूल्य २१ हजार अमेरिकी डलर हाराहारीमा बजारमा ल्याउने अनुमान छ ।


Back_to_top